लायन्स क्लब अफ पोखरा अन्नपूर्णले स्वर्गीय सन्तकुमार जोजीजूको स्मृतिमा पोखरामा विश्रामस्थल निर्माण सम्पन्न गरेको छ। मृतकका आफन्त तथा इष्टमित्रलाई शव बुझ्नुअघि केही समय बस्न सहज होस् भन्ने उद्देश्यले गण्डकी अस्पतालको शवगृह नजिकै विश्रामस्थल निर्माण गरिएको हो।
लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष लायन दुर्गाप्रसाद जोजीजूको पहल तथा संयोजनमा निर्माण गरिएको विश्रामस्थलमा जोजी परिवार, ब्लीस मिमोसा मन्टेश्वरी स्कुल र नेपाल लायन्स फाउन्डेसनको आर्थिक सहयोग रहेको छ। निर्माणको सम्पूर्ण संयोजन भने लायन्स क्लब अफ पोखरा अन्नपूर्णले गरेको हो।
लायन वर्ष २०२६/२७ का लागि क्लबको अध्यक्षको जिम्मेवारी सम्हालिरहँदा पितृ–पूर्वजको आशीर्वाद प्राप्त भइरहोस् भन्ने पारिवारिक इच्छासँगै समाजसेवामा एउटा इँटा थप्ने उद्देश्यले स्वर्गीय बुबा सन्तकुमार जोजीजूको स्मृतिमा विश्रामस्थल निर्माण गरिएको अध्यक्ष जोजीले बताए।
गण्डकी अस्पतालको शवगृहमा दैनिकजसो बिरामीको मृत्यु भएपछि पोस्टमार्टमलगायतका प्रक्रिया पूरा गरेर शव बुझ्न केही समय कुर्नुपर्ने अवस्था रहने गरेको छ। यस्तो अवस्थामा मृतकका आफन्त तथा इष्टमित्रलाई बस्न सहज होस् भन्ने उद्देश्यले विश्रामस्थल निर्माण गरिएको हो।
विश्रामस्थल हुँदै रामघाटस्थित बौद्ध अर्घौँ सदनतर्फ शव लैजाने तथा ल्याउने क्रमसमेत हुने भएकाले यसबाट मृतकका आफन्त र इष्टमित्रसँगै अस्पतालमा बिरामी कुरुवा तथा बाटो हिँड्ने बटुवाले समेत प्रत्यक्ष लाभ लिन सक्ने विश्वास क्लबले जनाएको छ।
अध्यक्ष जोजीजूले विश्रामस्थललाई सबैको साझा सम्पत्तिका रूपमा संरक्षण गर्न स्थानीय बासिन्दा तथा सरोकारवाला सबैलाई आग्रह गरेका छन्। विश्रामस्थलको सरसफाइ र संरक्षणमा स्थानीय समुदाय तथा सम्बन्धित व्यक्तिले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
समाजसेवामार्फत मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले निर्माण गरिएको उक्त विश्रामस्थलले अस्पताल परिसरमा आउने सर्वसाधारणलाई आवश्यक समयमा केही राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।