फेदीखोलामा पूर्वमन्त्री गुरुङलाई जनताको सम्मान, ‘पहिलोपटक यति ठूलो बजेट आयो’

सांसद भएपछि पालिकामा करोडौँका योजना ल्याएको भन्दै ५० भन्दा बढी आमा समूह, संघसंस्था, व्यक्ति र राजनीतिक दलले सम्मान गरेका थिए ।

स्याङ्जाको फेदीखोला गाउँपालिकाका जनताले गण्डकी प्रदेशसभा सदस्य पञ्चराम गुरुङलाई सम्मान गरेका छन् । मंगलबार फेदीखोला बजारस्थित एक कार्यक्रमबीच उनलाई भव्यरुपमा सम्मान गरिएको हो । गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका गुरुङले सांसद बनेयता फेदीखोला गाउँपालिकामा मात्रै १२ करोडभन्दा बढी योजना पारेको भन्दै सम्मान गरे ।
गाउँपालिकामा जनताको आवश्यकता र स्थानीय प्राथमिकताका आधारमा करोडौँ रुपैयाँका विकास योजना ल्याउन पहल गरेको भन्दै स्थानीयले सम्मान गरेका हुन् । पालिकाभित्रका करिब ५० भन्दा बढी आमा समूह, विभिन्न संघसंस्था, व्यक्ति तथा राजनीतिक दलका प्रतिनिधिले गुरुङलाई सम्मान गरेका थिए ।

स्थानीय सूर्यबहादुर थापाका अनुसार गुरुङको पहलमा गत आर्थिक वर्षमा फेदीखोला गाउँपालिकाका विभिन्न विकास योजनाका लागि करिब ९ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षमासमेत ३ करोड रुपैयाँ बजेट विनियोजन भएको उनले बताए ।
स्थानीय आवश्यकता र मागका आधारमा सडक, खानेपानी, कुलो, सिँचाई लगायतका विकास निर्माणका योजनामा बजेट परेको भन्दै स्थानीय ९१ वर्षिय कृष्ण थापाले खुशी व्यक्त गरे । पालिकामा परेको बजेट अन्य पार्टीले प्रचार गर्ने तर, बजेट राख्ने व्यक्ति गुमनाम जस्तै हुने भन्दै उनले पञ्चरामको खुलेर समर्थन गरेका थिए । फेदीखोलामा यसअघि यसरी ठूलो परिमाणमा विकास बजेट नपरेको स्मरण गरे ।

स्थानीयले जनताको आवश्यकता पहिचान गरी प्रदेश सरकारबाट बजेट ल्याउन पहल गरेको भन्दै गुरुङको प्रशंसा गरेका थिए । उनीहरूले आगामी दिनमा पनि फेदीखोलाको विकासका लागि निरन्तर पहल गर्न आग्रह गरेका छन् ।

यता, गुरुङले आफू जहिले पनि सत्यको बाटोमा हिड्ने र जनताको अधिकारकै लागि लडिरहने प्रतिबद्धता जनाए । उनले पार्टीभन्दा पनि माथि उठेर जनताका आवश्यकता र मागअनुसार प्रदेश सरकारसँग लड्दै बजेट ल्याउन सफल भएको बताए । विकासका नाममा एकले अर्कालाई विरोध गर्ने, दलदलबीच दोषारोपण गर्दा विकास गर्न नसकिएको उनको भनाई थियो ।

लामोसमयदेखि वैदेशिक रोजगारीमा रहेका गुरुङ नेपाल फर्किएपछि राजनीतिमा सक्रिय भएका थिए । उनले जनताका माग ठूलो नभएको भन्दै, साना योजनाले पनि जनतालाई ठूलो खुशी दिने बताए । ‘म जनतालाई छल, ढाँट गरेर राजनीति गर्दिन’ उनले भने, ‘जवसम्म स्वास्थ्यले साथ दिन्छ तवसम्म जनताकै अधिकारका लागि लडिरहन्छु ।’ गुरुङ् राप्रपा निकट हुन् ।

काँग्रेस, एमाले, माओवादी, रास्वपाजस्तै जनताले साथ दिने हो भने, पाँच वर्षभित्र फेदीखोलाका कुनै पनि सडक धुँलो र हिलो नरहने, घरघरमा खानेपानीको धारा जडान गर्न सकिने बताए । उनले सरकारसँग गएर आवाज नउठाउँदासम्म बजेट पाउन समस्या रहिरहने भन्दै जनतालाई सरकारको ढोका घच्घचाउन अनुरोध गरे । ‘सरकारसँग बजेट छैन भनेर प्रचार गरिन्छ भने त्यो भ्रम हो’ उनले थपे । कार्यक्रम आयोजना राप्रपा फेदीखोला गाउँपालिकाले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *