भूमि समस्या समाधान समितिले नापजाँच सम्पन्न भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
साविक निलबाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको थियो। उक्त क्षेत्रलाई स्थानीयस्तरमा ‘बोदे गाउँ’का नामले चिनिन्छ। यो पुरानो नेवारी बस्तीका रूपमा समेत परिचित छ।
नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समयदेखि रोकिएको थियो। आयोगबाट विगतमा नापनक्सा भइसकेका जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै समितिले अहिले ४२१ थान जग्गाधनी पुर्जा वितरण गरेको हो।
लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि स्वामित्वको प्रमाणपत्र प्राप्त गर्न नसकेका स्थानीयवासीले पुर्जा पाएसँगै आफ्नो जग्गाको कानुनी स्वामित्व स्थापित भएको बताएका छन्। पुर्जा वितरणले स्थानीयको जग्गासम्बन्धी समस्या समाधान हुनुका साथै उनीहरूलाई सम्पत्तिको कानुनी अधिकार सुनिश्चित भएको छ।