मोदीखोलाको बाढीमा मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमाना नयाँपुल–बिरेठाँटी सडकखण्ड नजिकै मोदीखोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बाढीका कारण फसेका तीन जनाको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ।

बिहीबार बिहान करिब २:१५ बजे मोदीखोलामा आएको बाढीले मन्दिरसम्म आवतजावत गर्न प्रयोग हुने पर्वत र कास्कीतर्फका दुईवटा मेटल पुलसहित मन्दिरको केही भाग बगाएपछि एक जना पुजारी र दुई जना भक्तजन मन्दिरमै फसेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका, कास्कीबाट सप्रनि शरणबहादुर खड्काको कमाण्डमा १३ जनाको रोप रेस्क्यु तथा गोताखोर टोली आवश्यक उद्धार सामग्रीसहित परिचालन भएको थियो। नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बगरबाट प्रनि रामप्रसाद सापकोटाको कमाण्डमा १६ जनाको टोलीसमेत घटनास्थलतर्फ खटिएको थियो।

उद्धार टोली बिहान ५:१५ बजेदेखि रोप रेस्क्युका लागि आवश्यक ‘रोप बेस’ निर्माणमा जुटेको थियो। बिहान ७:३५ बजे सप्रज देवराज खनाल र सप्रज सन्तोष बाँनिया रोपको सहायताबाट खोला पारि पुगेर उद्धारका लागि आधार तयार गरेका थिए। त्यसपछि स.प्र.स.ह. इन्द्रबहादुर गुरुङ र स.प्र.ज. जनक बुढासमेत थप सहयोगका लागि खोला पारि पुगेका थिए।

टोलीले रोप रेस्क्यु प्रविधिको प्रयोग गरी बिहान ७:५५ देखि ८:१५ बजेसम्म मन्दिरमा फसेका तीनै जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो।

उद्धार गरिएकामा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित बिरेठाँटी माध्यमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत करिब ३० वर्षीय रेवन्त प्रसाद सिंह र भारतीय नागरिक तथा विगत पाँच वर्षदेखि उक्त मन्दिरमा पुजारीका रूपमा कार्यरत करिब ५२ वर्षीय निर्माण गिरी रहेका छन्।

यसैबीच, बाढीका कारण अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडकखण्डका विभिन्न स्थानमा करिब ३०० देखि ४०० मिटर सडक बगाएपछि यातायात अवरुद्ध भएको छ। नयाँपुल क्षेत्रमा विद्युतको पोलसमेत बाढीले बगाएपछि विद्युत सेवा पनि अवरुद्ध भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *