किशोर श्रेष्ठ पक्राउ प्रकरणमा नयाँ बहस, महिला आयोग अध्यक्षले उठाइन् महिलाको चरित्रहत्याको मुद्दा

‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरण र प्रेस स्वतन्त्रताको विषयमा बहस भइरहेका बेला राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले पत्रकारिता तथा सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने प्रवृत्तिमाथि कानुनी नियमन आवश्यक रहेको बताएकी छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष पराजुलीले सार्वजनिक जीवनमा रहेका महिलाहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट निरन्तर हिंसा तथा चरित्रहत्याको सिकार भइरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन्।

उनले पितृसत्तात्मक सोचका कारण यौन तथा आचरणका विषयमा पुरुष र महिलामाथि समाजले फरक व्यवहार गर्ने गरेको बताएकी छन्।

पराजुलीका अनुसार पुरुषसँग जोडिएका यस्ता विषयमा समाज र परिवारले सहजै स्वीकार गर्ने गरे पनि महिलाको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवन नै प्रभावित हुने अवस्था सिर्जना हुन्छ।

राष्ट्रपति, सभामुख, मन्त्री, सांसददेखि स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्य स्वयंसेविकासम्मका महिलाहरू सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट हुने हिंसाको सिकार भइरहेको उनको भनाइ छ।

‘म आफैं पनि जनआस्थाबाट पीडित भएँ’

महिला आयोग अध्यक्ष पराजुलीले आफू स्वयं पनि ‘जनआस्था’ लगायतका सञ्चारमाध्यममा प्रकाशित समाचारबाट पीडित भएको अनुभव सार्वजनिक गरेकी छन्।

आफूबारे प्रकाशित समाचार कपोलकल्पित, भ्रमपूर्ण र निराधार रहेको दाबी गर्दै उनले प्रेस काउन्सिलमा पत्राचार गर्नुका साथै सम्पादकलाई समेत आपत्ति जनाएको बताएकी छन्।

तर आफूले चित्तबुझ्दो जवाफ वा खण्डन नपाएको उनको भनाइ छ।

उनले समाचारको स्रोत खुलाउन नपर्ने व्यवस्थाको दुरुपयोग गर्दै व्यक्तिको हुर्मत लिने प्रवृत्ति देखिएको आरोप लगाएकी छन्।

यस्ता विकृति रोक्न प्रेस काउन्सिल नेपाललाई कानुन र प्रणालीमार्फत थप बलियो बनाउनुपर्ने तथा आवश्यक नियमन र अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको धारणा छ।

किशोर श्रेष्ठको परिवारमाथिको आक्रमणप्रति आपत्ति

अध्यक्ष पराजुलीले कुनै पनि घटनाको अनुसन्धान गर्दा मानव अधिकार, लोकतन्त्र र विधिको शासनको सम्मान गर्नुपर्ने बताएकी छन्।

आरोपित व्यक्तिमाथि अनुसन्धान भइरहँदा उनका परिवारका सदस्यलाई समेत निशाना बनाउनु गलत भएको उनको भनाइ छ।

उनले किशोर श्रेष्ठकी पत्नी, बहिनी र छोरीलाई लक्षित गरी सामाजिक सञ्जालमा चरित्रहत्या तथा आत्मसम्मानमा आँच पुग्ने सामग्री सार्वजनिक भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

‘कोही व्यक्ति आरोपित हुँदैमा उसको परिवारका सदस्यसमेतको चरित्रहत्या गरिनु, आक्षेप लगाइनु र लाञ्छित गरिनु अर्को अपराध हो,’ उनले भनेकी छन्।

श्रेष्ठ पक्राउपछि अनुसन्धान जारी

एक महिलाले दिएको वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको जाहेरीका आधारमा प्रहरीले बुधबार साँझ किशोर श्रेष्ठलाई ललितपुरबाट पक्राउ गरेको थियो।

त्यसपछि प्रहरीले मध्यरातमा उनको निवास तथा बिहीबार बिहान सानेपास्थित ‘जनआस्था’को कार्यालयमा पुगेर कम्प्युटर, ल्यापटप तथा अन्य विद्युतीय उपकरण जफत गरेको थियो।

श्रेष्ठ पक्राउ प्रकरणपछि प्रेस स्वतन्त्रता, अनुसन्धानको प्रक्रिया तथा सञ्चारमाध्यममा महिलाको चरित्रहत्या रोक्नुपर्ने विषयमा विभिन्न पक्षबाट बहस भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *