गण्डकी प्रदेशमा पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा परी १ हजार ६३ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म प्रदेशमा १ हजार ९६४ वटा सडक दुर्घटना हुँदा २ हजार ५५८ सवारीसाधन संलग्न भएका थिए।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार उक्त अवधिमा दुर्घटनामा १ हजार ७६३ जना गम्भीर र १ हजार २३५ जना सामान्य घाइते भएका छन्। दुर्घटनामा संलग्न सवारीसाधनमध्ये करिब ४८ प्रतिशत दुईपांग्रे रहेका छन्।
दुर्घटनाको प्रमुख कारण तीव्र गति देखिएको छ। कुल दुर्घटनामध्ये ६३ प्रतिशत तीव्र गतिका कारण भएका छन्। त्यस्तै, ८ प्रतिशत दुर्घटना चालकले मादकपदार्थ सेवन गरेका कारण र १५ प्रतिशत चालकसँग अनुमतिपत्र नभएका कारण भएका छन्। ओभरटेक र ट्राफिक नियम उल्लंघन पनि दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन्।
कास्कीमा सबैभन्दा बढी मृत्यु
जिल्लागत तथ्यांकअनुसार दुर्घटनाको संख्या नवलपरासीमा सबैभन्दा बढी ५५८ रहेको छ। कास्कीमा ४६५ र तनहुँमा ३३६ दुर्घटना भएका छन्।
मृत्यु हुनेको संख्या भने कास्कीमा सबैभन्दा बढी २४३ रहेको छ। नवलपरासीमा २०६ र तनहुँमा २०८ जनाले दुर्घटनामा ज्यान गुमाएका छन्।
पाँच वर्षको अवधिमा दुर्घटनामा मृत्यु हुनेमा ७६७ पुरुष, २१५ महिला, ५० बालक र २२ बालिका छन्। दुर्घटनामा २२ वटा जनावरसमेत मरेका छन्।
साँझदेखि मध्यरातसम्म बढी जोखिम
गण्डकीमा साँझदेखि मध्यरातसम्म सडक दुर्घटनाको जोखिम बढी देखिएको छ। पाँच वर्षमा साँझ ६ बजेदेखि मध्यरातसम्म ६५९ दुर्घटना भएका छन्।
त्यस्तै, बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म ४०८, दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म ६४९ र मध्यरातदेखि बिहान ६ बजेसम्म १५५ दुर्घटना अभिलेख भएका छन्।
महिनागत तथ्यांकमा असारमा सबैभन्दा बढी १८२ दुर्घटना भएका छन्। अन्य महिनामा दुर्घटनाको संख्या करिब १४० देखि १७० को बीचमा रहेको छ।
बिहीबार पोखरामा राष्ट्रिय सडक सुरक्षा परिषद्ले आयोजना गरेको सडक सुरक्षासम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो।
कार्यक्रममा एसियाली विकास बैंक (एडिबी) का यातायात प्रोजेक्ट अफिसर हेमन्त तिवारीले सडक दुर्घटना चालकको व्यवहारमा मात्र सीमित नभई सवारीसाधनको अवस्था र सडक पूर्वाधारसँग समेत जोडिएको बताए।
“सडक दुर्घटनामा १० वर्षमा २४ हजार मानिसले ज्यान गुमाइसकेका छन्। सडक सुरक्षामा ध्यान दिनु सबैको कर्तव्य बनेको छ,” तिवारीले भने।
सडक काट्दा हुने दुर्घटना बढी
तिवारीका अनुसार यात्रुसम्बन्धी कारणमध्ये सडक काट्ने क्रममा हुने दुर्घटना सबैभन्दा बढी ४२ प्रतिशत रहेको छ। गाडीबाट ओर्लने क्रममा २२ प्रतिशत र गाडीमा चढ्ने क्रममा ८ प्रतिशत दुर्घटना भएका छन्।
यात्राका क्रममा झुन्डिने, शरीर सवारीसाधनबाहिर निकाल्ने र छतमा यात्रा गर्नेजस्ता जोखिमपूर्ण व्यवहार पनि दुर्घटनाका कारण रहेको तथ्यांकले देखाएको छ।
सवारीसाधनको प्राविधिक अवस्थातर्फ ब्रेक फेल प्रमुख कारण देखिएको छ। सवारीसाधनका कारण भएका दुर्घटनामध्ये ६२ प्रतिशत ब्रेक फेलसँग सम्बन्धित छन्। त्यस्तै, २२ प्रतिशत दुर्घटना अन्य यान्त्रिक गडबडी र ७ प्रतिशत ओभरलोडका कारण भएका छन्।
सडकको अवस्थासमेत दुर्घटनाको कारण बनेको विश्लेषणमा उल्लेख छ। घुम्ती तथा मोड, कच्ची सडक, ओरालो, साँघुरो सडक, खाल्डाखुल्डी र चिप्लो सडकका कारण दुर्घटना हुने गरेको पाइएको छ।
दुर्घटना न्यूनीकरणका लागि चालकको व्यवहार सुधारसँगै सडक पूर्वाधारको अवस्था र सवारीसाधनको प्राविधिक परीक्षणमा समेत ध्यान दिनुपर्ने तिवारीले बताए। उनका अनुसार तीव्र गति नियन्त्रण, अनुमतिपत्रबिनाका चालकविरुद्ध कडाइ, मादकपदार्थ सेवनको निगरानी, दुईपांग्रे सवारीको सुरक्षा तथा सडकको नियमित मर्मतलाई प्राथमिकता दिन आवश्यक छ।
तीनै तहका सरकारबीच सहकार्य आवश्यक
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लापरबाहीका कारण दुर्घटना बढेको देखिएको भन्दै तीनै तहका सरकारले निर्माण गर्ने सडकको मापदण्ड स्पष्ट हुनुपर्ने बताए। सडक सुरक्षाका लागि सबै तहका सरकारबीच सहकार्य आवश्यक रहेको भन्दै उनले नागरिक सचेतना र शिक्षा पनि महत्वपूर्ण हुने बताए।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख एसपी गोविन्दराज काफ्लेले सडक सुरक्षा सुधारका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सडकसम्बन्धी कानुन निर्माणदेखि सवारीसाधनको रुट निर्धारणसम्म महानगरपालिकालाई बेवास्ता गरिएको टिप्पणी गरे।