विजयपुर खोलामा हराइरहेका दुई बालकको खोजी तीव्र, सशस्त्र प्रहरीका २४ गोताखोर परिचालन

पोखरा महानगरपालिका–१४ चाउथे भोटेतौताराबाट ह्याप्पील्यान्ड जाने बाटोस्थित बजियपुर खोलामा हराइरहेका दुई बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोरसहितको टोली परिचालन गरेको छ।

शुक्रबार दिउँसो करिब १ः२० बजे बजियपुर खोला तर्ने क्रममा करिब १४/१५ वर्ष उमेरका दुई बालकलाई खोलाले बगाएको सूचना प्राप्त भएपछि कास्की प्रहरीले खोजी थालेको थियो। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन टोलीसमेत परिचालन गरी खोजी गरिएको थियो।

खोजीका क्रममा पोखरा–१४ छिनेडाँडा बस्ने १४ वर्षीय नाकिसन गुरुङ र पोखरा–१४ चाउथे बस्ने १५ वर्षीय ओमन राई रहेको खुलेको प्रहरीले जनाएको छ।

खोजीका क्रममा घटनास्थलदेखि करिब २ किलोमिटर खोलाको किनार तथा सम्भावित क्षेत्रमा समेत खोजतलास गर्दा फेला नपरेपछि शुक्रबार साँझ करिब ६ः४० बजे तत्कालका लागि खोजी कार्य रोकिएको थियो।

हराइरहेका बालकको थप खोजी तथा उद्धारका लागि शनिबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीका सशस्त्र प्रहरी सर्जन श्रेष्ठको कमान्डमा ११ जना गोताखोर तथा रोप रेस्क्यूसहितको टोली आवश्यक उद्धार सामग्री लिएर बिहान ९ बजे घटनास्थलतर्फ खटिएको छ।

टोलीले बिहान ९ः३० बजेदेखि बजियपुर खोला तथा आसपासका सम्भावित स्थानमा खोजी कार्य जारी राखेको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *