सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्द गर्ने व्यवसायीको घोषणा

सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबारदेखि देशभरका म्यानपावर कम्पनी तथा शाखा कार्यालय बन्द गर्ने घोषणा गरेको छ।

संघले कार्यालय बन्दसँगै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय गरेको हो। यसबाट नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया तथा श्रमिकको उडानसमेत प्रभावित हुने भएका छन्।

यसअघि नै पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन र भिसा स्ट्याम्पिङको काम रोकिसकेको संघले अब भिसा र श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानसमेत रोक्ने जनाएको छ।

संघका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार आइतबार राति १२ बजेसम्म प्रक्रिया पूरा गरी उडानका लागि तयारी अवस्थामा रहेका श्रमिकलाई भने पठाइनेछ। त्यसपछि प्रक्रिया पूरा भइसकेका श्रमिकको समेत उडान रोक्ने निर्णय गरिएको उनले बताए।

श्रम मन्त्रालयको टोलीसँग शुक्रबार प्रारम्भिक छलफल भए पनि व्यवसायीका मागमा ठोस सहमति हुन नसकेको संघको भनाइ छ। मन्त्रीस्तरमा वार्ता हुन नसकेको भन्दै व्यवसायीहरूले सरकारले आफूहरूका समस्यालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन्।

संघका महासचिव हीराबहादुर डाँगीले आन्दोलनलाई व्यवसायीको पेसागत अस्तित्व, अधिकार, सम्मान र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा व्याख्या गरेका छन्।

संघले आफ्ना माग सम्बोधन गरी ठोस निर्णय र त्यसको कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता नलिने जनाएको छ। यद्यपि सरकारसँग वार्ता र संवादका लागि भने ढोका खुला राखिएको संघले स्पष्ट पारेको छ।

संघको निर्णयविपरीत लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन गर्ने म्यानपावर कम्पनीलाई समेत कारबाही गर्ने चेतावनी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *