साउनमा स्याङ्जा प्रहरीको अपराध अनुसन्धानदेखि विपद् व्यवस्थापनसम्म सक्रियता

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले २०८३ साल साउन महिनाको अपराध अनुसन्धान, शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा समुदाय केन्द्रित प्रहरी गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयले साउन २९ गतेसम्मको विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रणसँगै नागरिकमैत्री प्रहरी सेवा र समुदायसँगको सहकार्यलाई प्राथमिकता दिएको जनाएको छ।

२१ मुद्दा दर्ता, ५ फर्छ्यौट

प्रहरीका अनुसार साउन महिनामा विभिन्न प्रकृतिका २१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ५ वटा मुद्दा फर्छ्यौट भएका छन् भने १६ वटा मुद्दा बाँकी छन्। मुद्दामा १३ जना प्रतिवादी पक्राउ परेका छन्।

दर्ता भएका मुद्दामध्ये भवितव्य ज्यान चार, झुण्डी मृत्यु चार, फुटकर ज्यान एक, सवारी ज्यान एक, जबरजस्ती करणी तीन, लागूऔषध एक, बाल यौन दुरुपयोग एक, साधारण चोरी एक, अभद्र व्यवहार चार र बैंकिङ कसूर एक रहेका छन्।

फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयन

फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरीले जनाएको छ। चोरी, अंशवण्डा, कुटपिट, चेक अनादर, लुटपिट, सम्बन्ध विच्छेद र लेनदेनसम्बन्धी मुद्दामा पक्राउ परेकाबाट एक महिना कैद तथा २३ हजार ४२० रुपैयाँ ६ पैसा जरिवाना कार्यान्वयन भएको विवरणमा उल्लेख छ।

महिला तथा बालबालिकासम्बन्धी उजुरीमा तीनवटा मिलापत्र

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ चारवटा उजुरी प्राप्त भएकामा तीनवटा मिलापत्र गराइएको र एउटा बाँकी रहेको छ। प्रहरीका अनुसार उजुरीको प्रकृति खान–लाउन नदिएको तथा श्रीमान्–श्रीमतीबीचको झगडासँग सम्बन्धित छन्।

त्यस्तै, साउन महिनामा १४ जना हराएको विवरण प्राप्त भएकोमा ८ जना फेला परेका छन्। अझै ६ जना फेला पर्न बाँकी रहेको प्रहरीको तथ्याङ्क छ।

आत्महत्या चार, प्रयासका तीन घटना

साउन महिनामा जिल्लामा चार जनाले आत्महत्या गरेको विवरण प्रहरीसँग छ। आत्महत्या गर्नेमा तीन पुरुष र एक महिला रहेका छन्। घटनाहरू चापाकोट, गल्याङ, वालिङ र पुतलीबजार क्षेत्रमा भएका हुन्।

यसै अवधिमा आत्महत्याको प्रयासका तीन घटना भएका छन्। प्रहरीले आत्महत्या न्यूनीकरण तथा रोकथामका लागि जिल्ला स्तरीय कार्यदल र समुदाय प्रहरी साझेदारीसँगको समन्वयमा कार्यक्रम तथा छलफललाई अघि बढाएको जनाएको छ।

चोरीदेखि लागूऔषधसम्मका घटनामा कारबाही

साउन महिनामा वालिङको अकलादेवी मन्दिरको दानपेटिका चोरीमा संलग्न दुई जनालाई पक्राउ गरी अदालतमा पेश गरिएको थियो। अदालतले जनही ५० हजार रुपैयाँ धरौटी माग गरे पनि धरौटी बुझाउन नसकेपछि उनीहरू कारागार चलान भएका छन्।

मानव बेचबिखनसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पनि पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्।

त्यस्तै, वालिङ क्षेत्रमा लागूऔषधसहित एक महिला पक्राउ परेकी छन्। प्रहरीले स्याङ्जाको विरुवा गाउँपालिका–५ स्थित जंगलबाट एक थान भरुवा बन्दुक, केप, छर्रा र बारुद समेत बरामद गरेको जनाएको छ।

प्रहरीले चोरी भएका दुई साइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको, विभिन्न समयमा हराएका पाँच थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता गरेको तथा हराएको मनिपर्स र झोला समेत फेला पारेर धनीलाई बुझाएको जनाएको छ।

१ हजार ७९० गाँजाका बोट नष्ट

प्रहरी गस्तीका क्रममा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका अन्दाजी १ हजार ७९० वटा गाँजाका बोट स्थानीयसँगको समन्वयमा फडानी गरी नष्ट गरिएको छ। वालिङ र चापाकोट क्षेत्रमा बिक्रीका लागि राखिएको अन्दाजी १८० लिटर अवैध घरेलु मदिरा समेत नियन्त्रणमा लिएर नष्ट गरिएको छ।

बिलबिजकबिनाका करिब १ लाख ८० हजार ३०० रुपैयाँ बराबरका विद्युतीय सामग्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

१ हजार ४४४ पटक प्रहरी परिचालन

शान्ति सुरक्षा तथा नियमित प्रहरी परिचालनअन्तर्गत साउन महिनामा पिकेट, चेकिङ, ग्रामीण गस्ती, लामो दूरीको गस्ती र छोटो दूरीको गस्ती गरी १ हजार ४४४ पटक प्रहरी परिचालन गरिएको छ।

यसमा ४०६ पिकेट, ३४८ चेकिङ, १०४ ग्रामीण गस्ती, ३ पटक लामो दूरीको गस्ती र ५८३ पटक छोटो दूरीको गस्ती गरिएको छ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु

साउन महिनामा जिल्लामा ७ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर र छ जना सामान्य घाइते भएका छन्।

प्रहरीले लागू पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा एक माइक्रो चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि प्रक्रिया अघि बढाएको जनाएको छ।

विपद्का १० घटना, एक जनाको मृत्यु

विपद् व्यवस्थापनतर्फ साउन महिनामा १० वटा घटना भएका छन्। विपद्मा एक जनाको मृत्यु भएको छ भने १० वटा चौपाया मरेका छन्। तीमध्ये तीन भैंसी र सात बाख्रा रहेका छन्।

अरौदी खोलाले बगाएका पुतलीबजार–३ का २१ वर्षीय सलिम मगरको शव साउन २९ गते आँधीखोलामा फेला परेको थियो। प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको छ।

अविरल वर्षाका कारण विभिन्न स्थानमा गोठ भत्किँदा बाख्रा तथा भैंसीको मृत्यु भएको छ। त्यस्तै, कालीगण्डकीको बहाव बढेर गल्याङ–५ सेतीबेणीका घरमा पानी पसेपछि प्रहरीले स्थानीयको उद्धार गरेको थियो।

अरौदी खोलाले मोटरसाइकलसहित बगाएका दुई जनालाई पनि प्रहरीले सकुशल उद्धार गरी मोटरसाइकल खोलाबाट निकालेको विवरणमा उल्लेख छ।

११६ सचेतनामूलक कार्यक्रम, २ हजार ५९१ लाभान्वित

समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत मानव बेचबिखन, लागूऔषध, महिला तथा बालबालिकाविरुद्ध हुने अपराध, साइबर अपराध, अनलाइन ठगी, विपद् व्यवस्थापन, ट्राफिक सचेतना तथा घरदैलो कार्यक्रमलगायत विषयमा ११६ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा २ हजार ५९१ जना लाभान्वित भएको प्रहरीले जनाएको छ।

स्याङ्जामा १६७ वटा समुदाय प्रहरी साझेदारी वडा समिति गठन गरी सचेतनामूलक गतिविधि सञ्चालन गरिएको पनि विवरणमा उल्लेख छ।

प्राकृतिक सम्पदा दोहन नियन्त्रणमा तीन ट्याक्टर कारबाही

अवैध रूपमा बालुवा ओसारपसारमा संलग्न तीन वटा ट्याक्टर नियन्त्रणमा लिई सम्बन्धित स्थानीय तहमा पठाइएको छ। वालिङमा दुई तथा भिरकोटमा एक ट्याक्टरमाथि कारबाही भएको हो। सम्बन्धित स्थानीय तहले क्रमशः ३० हजार, तीन हजार र १० हजार रुपैयाँ जरिवाना गरेको प्रहरीले जनाएको छ।

नागरिकमैत्री सेवा र प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिमा जोड

जिल्ला प्रहरी कार्यालयले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन युवामैत्री नागरिक सहायता कक्ष स्थापना गरी नागरिक सहजकर्ता परिचालन गरेको जनाएको छ।

प्रहरी कर्मचारीका लागि वित्तीय साक्षरता तथा प्राथमिक उपचारसम्बन्धी अनुशिक्षणसमेत सञ्चालन गरिएको छ। प्राथमिक उपचारसम्बन्धी कार्यक्रममा पुतलीबजार, वालिङ र चापाकोटका गरी १३३ जना प्रहरी कर्मचारी सहभागी भएका छन्।

यसैगरी वालिङमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम, गल्याङमा नागरिक सुनुवाइ कार्यक्रम र आत्महत्या न्यूनीकरण तथा समुदाय प्रहरी साझेदारीसम्बन्धी बैठकसमेत सम्पन्न गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले अपराध अनुसन्धान र कानुनी कारबाहीलाई छिटो, निष्पक्ष तथा पारदर्शी बनाउँदै पीडितमैत्री सेवा प्रवाहलाई निरन्तरता दिएको जनाएको छ। साथै बजार अनुगमन, सीसीटीभी जडान, मोबाइल एपबाट प्राप्त उजुरीको फर्छ्यौट तथा विपद्का घटनामा तत्काल उद्धारलाई पनि प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *