प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले अब प्रतिनिधिसभामै सांसदका प्रत्यक्ष प्रश्नको सामना गर्ने भएका छन्। प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आगामी भदौ १० गते हुने भएको छ।
सभामुख डोलप्रसाद अर्यालले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने औपचारिक जानकारी गराएका हुन्।
प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रश्नोत्तरका लागि छुट्याउनुपर्ने प्रावधान रहेको छ।
यसैबीच, सीमा विवादलगायतका विषयमा विपक्षी दलहरूले सरकारसँग जवाफ मागिरहेका बेला सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन औपचारिक रुलिङसमेत गरेका छन्।
भदौ १० गतेको बैठकमा सांसदहरूले सीमा विवाद, सरकारका महत्वपूर्ण निर्णय तथा पछिल्ला कामकारबाहीबारे प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्न गर्नेछन्। प्रधानमन्त्री बालेनले ती प्रश्नको जवाफ संसदबाटै दिने भएका छन्।