स्थानीय तह निर्वाचनपछि लामो समयदेखि देखिँदै आएको प्रमुख प्रशासकीय अधिकृतको अभाव अन्ततः अन्त्य भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार ग्रहणका क्रममा गरेको प्रतिबद्धताअनुसार देशका सबै ७५३ वटै स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाइएको मन्त्रालयले जनाएको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनपछि अधिकांश पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका थिए। कर्मचारी अभावका कारण प्रशासनिक काम तथा सेवा प्रवाह प्रभावित हुँदै आएको अवस्थामा मन्त्रालयको पछिल्लो सरुवा निर्णयसँगै सबै स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत पुगेका हुन्।
मन्त्रालयका अनुसार हालै ४२ जना अधिकृत तथा उपसचिवलाई विभिन्न स्थानीय तहमा खटाइएपछि ७५३ वटै पालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति पूरा भएको हो।
करिब एक दशकदेखि देखिँदै आएको स्थानीय तहको प्रशासनिक नेतृत्वसम्बन्धी समस्या समाधान भएको दाबी गर्दै मन्त्रालयले यसलाई स्थानीय सरकार सञ्चालनको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
प्रमुख प्रशासकीय अधिकृतको अभाव हटेसँगै पालिकाको सेवा प्रवाह, विकास योजना कार्यान्वयन तथा दैनिक प्रशासनिक काम थप प्रभावकारी हुने मन्त्रालयको अपेक्षा छ।