प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता, सुशासन र समृद्धिलाई प्राथमिकता

प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका प्राथमिकता र लक्ष्यअनुसार काम अघि बढाउन मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर तथा सम्झौताको प्रति आदानप्रदान गरिएको हो।

सम्झौतामा चालु आर्थिक वर्षमा मन्त्रालयहरूले सम्पादन गर्ने मुख्य काम, हासिल गर्नुपर्ने उपलब्धि तथा त्यसको समयसीमालाई समेटिएको छ। सरकारको प्रमुख प्राथमिकतामा रहेको सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामलाई प्रभावकारी रूपमा अघि बढाउने गरी सम्झौता गरिएको जनाइएको छ।

कार्यसम्पादन सम्झौतामार्फत मन्त्रीहरूलाई आ–आफ्नो मन्त्रालयका निर्धारित लक्ष्य र कार्यक्रम कार्यान्वयनमा थप जिम्मेवार बनाउने सरकारको उद्देश्य रहेको छ। सम्झौताअनुसार मन्त्रालयबाट हुने कामको प्रगति र उपलब्धिको मूल्यांकनसमेत गरिनेछ।

यसैबीच, प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन्। मुख्यसचिवसँगको सम्झौताले सरकारका नीति, योजना तथा निर्णयको प्रभावकारी कार्यान्वयन र प्रशासनिक संयन्त्रलाई परिणाममुखी बनाउने लक्ष्य लिएको छ।

सरकारले कार्यसम्पादन सम्झौतालाई जिम्मेवारी, जवाफदेहिता र परिणाममा आधारित शासन प्रणालीको आधारका रूपमा अघि बढाउन खोजेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *