नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

नापी कार्यालय धनुषाले साबिक मिथलेश्वर महुवाहीअन्तर्गतका स्ववासी जग्गाको नापजाँच सम्पन्न भएको लामो समयपछि ३१० परिवारलाई लालपुर्जा वितरण गरेको हो।

साबिक मिथलेश्वर महुवाही वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र ९ अन्तर्गत पर्ने स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न भएको थियो। तर, जग्गा दर्ता प्रक्रियाका लागि आवश्यक जनसहभागिता न्यून हुँदा लालपुर्जा वितरण प्रक्रिया लामो समयसम्म अघि बढ्न सकेको थिएन।

आवश्यक प्रक्रिया पूरा भएपछि नापी कार्यालयले जग्गाधनी प्रमाणपुर्जा वितरणलाई तीव्रता दिएको जनाएको छ। लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका स्थानीयले पुर्जा पाएसँगै जग्गाको कानुनी स्वामित्व सुनिश्चित भएको महसुस गरेका छन्।

नापजाँच सम्पन्न भए पनि विभिन्न प्रशासनिक तथा प्रक्रियागत कारणले वर्षौंसम्म रोकिएको पुर्जा वितरण सुरु भएपछि स्थानीयमा उत्साह देखिएको छ। कार्यालयले बाँकी प्रक्रियागत कामसमेत पूरा गर्दै योग्य जग्गाधनीलाई प्रमाणपुर्जा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *