पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’, चार हजारभन्दा बढी धावक सहभागी हुने

प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई एकैसाथ जोड्दै पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना हुने भएको छ। आगामी असोज ३ गते (१९ सेप्टेम्बर २०२६) शनिबार हुने दौडमा चार हजारभन्दा बढी धावक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ।

नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (NFIA) को आयोजनामा तथा यू.एस. सोयाबिन एक्सपोर्ट काउन्सिल (USSEC) को मुख्य प्रायोजनमा हुने प्रतियोगितालाई नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग गर्नेछ।

आयोजकका अनुसार कार्यक्रम केवल दौड प्रतियोगितामा सीमित नभई पोषण, स्वास्थ्य, खेलकुद र पर्यटनलाई जोड्ने जनचेतनामूलक अभियानका रूपमा सञ्चालन गरिनेछ।

नेपालमा पोषण तथा खाद्य सुरक्षा अझै चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै आयोजकले पर्याप्त प्रोटिन र सन्तुलित आहारको महत्त्वबारे जनचेतना फैलाउन कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ। आयोजकका अनुसार नेपालमा ४६ लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको अवस्थामा छन् भने कुपोषण, पुड्कोपन र रक्तअल्पता प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेका छन्।

नेपालमा प्रतिव्यक्ति दैनिक प्रोटिन उपलब्धता औसत करिब ४६ ग्राम रहेको र यो विश्वव्यापी औसत करिब ७७ ग्रामभन्दा निकै कम रहेको आयोजकको भनाइ छ।

८ विधामा प्रतिस्पर्धा

‘राइट टु प्रोटिन रन–२०२६’ मा विभिन्न उमेर तथा समूहलाई समेटेर आठ विधामा प्रतिस्पर्धा गराइनेछ।

प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला हाफ म्याराथन २१ किलोमिटर, खुला पुरुष १० किलोमिटर, खुला महिला ५ किलोमिटर, कक्षा १२ सम्मका पुरुष ५ किलोमिटर, कक्षा १२ सम्मका महिला ३ किलोमिटर तथा पुरुष र महिला ह्विलचेयर ३ किलोमिटर विधा रहनेछन्।

प्रत्येक विधाका उत्कृष्ट पाँच धावकलाई नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि १६ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ। नियमानुसार २५ प्रतिशत कर कट्टीपछि विजेताहरूले कुल १२ लाख ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

बसुन्धरा पार्कबाट सुरु हुने दौड

दौड पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु भई सोही स्थानमा पुगेर सम्पन्न हुनेछ। निर्धारित रुटअनुसार धावकहरू बसुन्धरा पार्क–हल्लनचोक–खहरे–सेदी–खपौंदी–पामे हुँदै सौरुकसम्म पुगेर पुनः सोही मार्गबाट बसुन्धरा पार्क फर्किनेछन्।

दौडलाई सुरक्षित र व्यवस्थित बनाउन आयोजकले नेपाल एथलेटिक्स संघ, स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा स्वयंसेवकसँग समन्वय गर्ने जनाएको छ।

दौड मार्गका विभिन्न स्थानमा खानेपानी तथा हाइड्रेसन स्टेसन, प्राथमिक उपचार र स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ। आकस्मिक अवस्थाका लागि एम्बुलेन्स तथा आपत्कालीन स्वास्थ्य सेवासमेत तयारी अवस्थामा राखिने आयोजकको भनाइ छ।

‘प्रोटिनको स्रोतबारे पनि सचेतना’

कार्यक्रमको २०२६ संस्करणमा अण्डा, कुखुराको मासु, माछा, दूध, सोया, टोफु, पनीर, दाल तथा गेडागुडीजस्ता सहज रूपमा उपलब्ध प्रोटिनका स्रोतबारे समेत जनचेतना फैलाइनेछ।

आयोजकका अनुसार शारीरिक वृद्धि तथा विकास, मांसपेशीको स्वास्थ्य, रोग प्रतिरोधात्मक क्षमता, शारीरिक पुनःस्थापना तथा समग्र स्वास्थ्यका लागि पर्याप्त प्रोटिन र सन्तुलित पोषण आवश्यक हुन्छ। त्यसैले पोषणसम्बन्धी बहसलाई सभा–सम्मेलनमा मात्र सीमित नराखी समुदायस्तरसम्म पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

‘राइट टु प्रोटिन रन’ अभियान सन् २०१९ देखि सञ्चालन हुँदै आएको छ। दौड र खेलकुदमार्फत स्वस्थ जीवनशैलीको सन्देश फैलाउँदै नयाँ तथा उदीयमान धावकलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने अभियानको उद्देश्य रहेको आयोजकले जनाएको छ।

पोखरालाई खेल तथा स्वास्थ्य पर्यटनको गन्तव्य बनाउने लक्ष्य

कार्यक्रमले पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। देशका विभिन्न स्थानबाट धावक तथा सहभागी पोखरा आउने भएकाले यसले पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

कार्यक्रम संयोजक समेजराज भण्डारीले ‘राइट टु प्रोटिन रन’ केवल दौड प्रतियोगिता नभई पोषण, शारीरिक तन्दुरुस्ती, स्वस्थ जीवनशैली र समग्र स्वास्थ्यबारे जनचेतना फैलाउने अभियान भएको बताए।

उनका अनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन फिड, भेटेरिनरी, पोल्ट्री, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, स्वास्थ्य र सामुदायिक क्षेत्रका विभिन्न संस्थासँग समेत सहकार्य गरिनेछ।

NFIA मुख्य आयोजक, USSEC प्रमुख प्रायोजक र नेपाल एथलेटिक्स संघ प्राविधिक सहयोगी रहेको प्रतियोगिताले खेलकुदसँगै पोषण र स्वास्थ्यको सन्देश समुदायसम्म पुर्‍याउने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *