साउनमा कास्की प्रहरीको सक्रियता : १६८ मुद्दा दर्तादेखि ९२९७ हटलाइन कलसम्म

जिल्ला प्रहरी कार्यालय कास्कीले साउन महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणदेखि शान्ति सुरक्षा, विपद् व्यवस्थापन र जनचेतनामूलक कार्यक्रमसम्मका गतिविधिलाई तीव्रता दिएको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको साउन महिनाको प्रगति विवरणअनुसार एक महिनामा कास्कीमा विभिन्न प्रकृतिका १६८ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीका अनुसार साउन महिनामा जघन्य तथा गम्भीर अपराधका २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १३, आर्थिक अपराधका ५३ र अन्य प्रकृतिका ८२ वटा मुद्दा दर्ता भएका हुन् । ती मुद्दामा संलग्न चालु मुद्दाका १८१ जना प्रतिवादी पक्राउ परेका छन् ।

फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले सक्रियता देखाएको छ । साउनमा ६७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट ८ वर्ष ७ महिना ११ दिन कैद तथा रु.३७ लाख ९६ हजार ५२० बिगो रकम असुल भएको प्रहरीले जनाएको छ ।

घरेलु तथा सामाजिक हिंसाका १३८ घटना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ साउनमा सामाजिक हिंसासम्बन्धी १०० वटा ठाडो उजुरी परेको छ । ती उजुरीमा १०० जना पीडित र १०४ जना पीडक रहेको विवरणमा उल्लेख छ । यस्तै, घरेलु हिंसाका ३८ वटा घटना प्रहरीसमक्ष आएका छन् । तीमध्ये ११ वटा मिलापत्रबाट टुंगिएका छन् भने १० वटा अदालत तथा अन्य कार्यालयमा पठाइएको र १७ वटा बाँकी रहेको प्रहरीले जनाएको छ ।

सामाजिक तथा घरेलु हिंसाका घटनामध्ये सबैभन्दा धेरै पोखरा महानगरपालिकामा र सबैभन्दा कम मादी गाउँपालिकामा भएको प्रहरीको विवरण छ ।

हराएका ६५ मध्ये ५६ जना फेला

साउनमा महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिक गरी ६५ जना हराएको निवेदन प्रहरीमा परेको थियो । तीमध्ये २५ महिला, ११ पुरुष, १६ बालबालिका र ४ ज्येष्ठ नागरिक गरी ५६ जना फेला परेको प्रहरीले जनाएको छ । अघिल्लो महिनामा हराएका १५ जनालाई समेत साउनमा फेला पारिएको छ ।

प्रत्यक्ष निवेदनबाट प्राप्त ४०९ वटा ठाडो उजुरी सबै फर्छ्यौट गरिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीमा आएका ७० वटा उजुरी पनि सबै फर्छ्यौट भएको विवरणमा उल्लेख छ ।

लागूऔषध नियन्त्रणमा ठूलो परिमाणमा बरामद

लागूऔषध नियन्त्रणतर्फ साउनमा प्रहरीले ब्रुफिन ४७५ एम्पुल, डाइजापाम ४६९ एम्पुल, फेनारगन ४७६ एम्पुल, ब्राउनसुगर १८९.११८ ग्राम, ट्यापेण्डाडोल १० हजार १६६ ट्याबलेट, गाँजा १० किलो ४५० ग्राम र ट्रामाडोल ७९० ट्याबलेट बरामद गरेको जनाएको छ ।

लागूऔषधसम्बन्धी ११ वटा मुद्दा दर्ता हुँदा २० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई महिला र १८ पुरुष छन् ।

साउन महिनामा पोखराका विभिन्न स्थानबाट ब्राउनसुगर, गाँजा, ट्रामाडोल र ट्यापेण्डाडोलसहित पटक–पटक पक्राउ गरिएको प्रहरीले जनाएको छ । छिनेडाँडाबाट २३ ग्राम ९३ मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित दुई जना पक्राउ परेका थिए भने अन्नपूर्ण मार्गबाट ६ ग्राम ब्राउनसुगर र रु.१ लाख ५५ हजार नगदसहित एक जना पक्राउ परेका थिए ।

नागढुंगाबाट गाँजा, ट्रामाडोल र ट्यापेण्डाडोलसहित दुई जना तथा सिम्पानीबाट ८०० ट्याबलेट ट्यापेण्डाडोलसहित छ जना पक्राउ परेका थिए ।

अनलाइन ठगीमा भारतीय नागरिकसहित दुई पक्राउ

साउनमा कास्की प्रहरीले अनलाइन स्क्याम गर्ने गिरोहसमेत नियन्त्रणमा लिएको छ । पोखरा–५ प्रस्याङमा ‘Oasis Tourism International’ नामको संस्था सञ्चालन गरी एसिया तथा युरोपका विभिन्न देश घुमाउने भन्दै ‘Holiday voucher’ र ‘Win’ लगायतका कुपनमार्फत रकम उठाउने गरेको आरोपमा भारतीय नागरिकसहित दुई जना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार गिरोहले हालसम्म ३० जनालाई विदेश भ्रमण गराउने प्रलोभनमा पारी रु.९ लाख ६५ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले १५ जना बेरोजगार युवायुवतीलाई समेत रोजगारीको प्रलोभन देखाएर गतिविधिमा संलग्न गराएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखनको अनुसन्धानमा पाँच महिला पक्राउ

कास्की प्रहरीले विभिन्न होटल तथा खाजाघरमा बालिकालाई प्रलोभनमा पारेर अनैतिक गतिविधिमा लगाउने घटनामा पनि कारबाही गरेको जनाएको छ ।

पोखरा–१८ चिसाखोलाका विभिन्न खाजाघरबाट एक बालिकाको उद्धार गरी चार महिलालाई पक्राउ गरिएको थियो । यस्तै पोखरा–८ स्थित एक खाजाघरबाट थप दुई बालिकाको उद्धार गरी होटल सञ्चालक एक महिलालाई पक्राउ गरिएको प्रहरीको विवरणमा उल्लेख छ । घटनामा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

सवारी दुर्घटनामा चार जनाको मृत्यु

साउनमा कास्कीमा ८ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा चार जनाको मृत्यु र पाँच जना घाइते भएका छन् । दुर्घटनामध्ये ६ वटा तीव्र गतिका कारण, एउटा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा र एउटा अन्य कारणले भएको प्रहरीको विश्लेषण छ ।

ट्राफिक नियम उल्लंघन तथा चेकिङका क्रममा प्रहरीले ५ हजार ९४४ वटा कारबाही गरेको छ । त्यसबाट रु.४८ लाख २ हजार राजस्व संकलन भएको छ ।

विपद्मा दुई पुरुष बेपत्ता

साउनमा कास्कीमा बाढीपहिरोका चार घटना भएका छन् । ती घटनामा १३ जना प्रहरी परिचालन गरिएको र दुई पुरुष बेपत्ता भएको विवरणमा उल्लेख छ । बाढीपहिरोबाट एउटा पुलमा क्षति पुगेको छ ।

यस्तै, चार वटा आगलागीका घटनामा १० जना प्रहरी परिचालन भएका थिए । अविरल वर्षाका १९ वटा घटनामा ७१ जना प्रहरी परिचालन गरिएको थियो भने दुई पुरुष घाइते भएका छन् । वर्षाका कारण दुई चौपाया, सात घर, एक गोठ र एउटा पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

९ हजार २९७ वटा हटलाइन कल

साउन महिनामा प्रहरी कार्यालयको हटलाइन तथा डायल सम्पर्क नम्बरमा ९ हजार २९७ वटा कल आएको छ । यस अवधिमा प्रहरी सेवाग्राहीको कुल संख्या ९ हजार २३५ जना रहेको छ, जसमा २ हजार ७९६ महिला र ६ हजार ४३९ पुरुष छन् ।

प्रहरीले साउनमा विभिन्न समुदाय केन्द्रित १७९ वटा कार्यक्रम सञ्चालन गरी ७ हजार १२५ जनालाई सहभागी गराएको छ । विद्यालय केन्द्रित १४ वटा कार्यक्रममा ९०९ जना सहभागी भएको विवरणमा उल्लेख छ । लागूऔषध, साइबर अपराध, आत्महत्या रोकथाम, मानव बेचबिखन, लैंगिक हिंसा, सडक सुरक्षा, घरेलु हिंसा तथा बालबालिकामाथि हुने अपराधलगायत विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

९ हजार ९१५ गाँजाका बोट फडानी

प्रहरीले प्राकृतिक रूपमा उम्रिएका ९ हजार ९१५ वटा गाँजाका बोट फडानी गरी नष्ट गरेको छ । प्राकृतिक सम्पदा दोहन नियन्त्रणअन्तर्गत आठ वटा सवारीसाधन नियन्त्रणमा लिएर स्थानीय तहमा पठाइएको र रु.१ लाख २९ हजार राजस्व कारबाही भएको छ । अवैध काठ बोकेको एउटा ट्र्याक्टरसमेत नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय कास्कीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शान्ति सुरक्षा कायम गर्न साउनमा विभिन्न प्रकारका गस्ती तथा चेकिङमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । अपराध नियन्त्रणका लागि ‘क्राइम हटस्पट म्याप’, सादा पोसाकमा प्रहरी परिचालन, नियमित सूचना संकलन तथा स्थानीय तह र विद्यालयसँगको समन्वयलाई निरन्तरता दिइएको छ ।

यस्तै, पोखराका पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक र लेकसाइड क्षेत्रमा ‘स्वीप अप्रेसन’ सञ्चालन गरी लागूऔषध सेवन, हो–हल्ला तथा अवाञ्छित गतिविधिमा संलग्न २० जनालाई नियन्त्रणमा लिइएको छ । ‘Operation 365’ अन्तर्गत साउनमा ७६ वटा सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *