स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।

मृत्यु हुनेको पहिचान नखुलिसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बुधबार साँझ करिब ५ः४५ बजे गल्याङ बजारबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग.१.ज. ६५३४ नम्बरको बलेरो जीप भित्री सडकखण्डको उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकामध्ये चालकसहित १० जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। प्रहरी घटनास्थलमा पुग्नुअघि नै केही घाइतेलाई स्थानीयको सहयोगमा अस्पताल पठाइसकिएको थियो । जसका कारण जीपमा कति जना सवार थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु भएका तथा घाइतेहरूको विस्तृत विवरणसमेत खुल्न बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता रमेशदत्त अवस्थीले बताए ।

घटनालगत्तै प्रहरी चौकी गल्याङबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा पुगेको थियो। थप अनुसन्धान तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक प्रताप पौडेलको कमाण्डमा १५ जनाको प्रहरी टोलीसमेत घटनास्थलमा खटिएको छ।

प्रहरीले विभिन्न अस्पतालमा पुगेर घाइतेहरूको विवरण संकलन गर्ने तथा दुर्घटनाबारे थप अनुसन्धान गर्ने काम गरिरहेको जनाएको छ। दुर्घटनामा परी मृत्यु भएका तथा घाइतेहरूको पहिचान र विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *