स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी स्याङ्जाका अनुसार मृत्यु हुनेमा गल्याङ नगरपालिका–८ की २५ वर्षिया सदिक्षा थापा मगर पचभैया र गल्याङ–९ का ६० वर्षिय यमबहादुर विक रहेका छन् । उनीहरुको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता रमेशदत्त अवस्थीले जानकारी दिए ।
बुधबार साँझ करिब ५ः४५ बजे गल्याङ बजारबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग.१.ज. ६५३४ नम्बरको बलेरो जीप भित्री सडकखण्डको उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटनामा भएको थियो । दुर्घटनामा दुई जनाको मृत्यु र १० जना घाइते भएका थिए ।
घाइते जीप चालक गल्याङ–९ का २९ वर्षिय दिपक विकको टाउकोमा चोट लागेको छ भने उनको नगर अस्पताल गल्याङ्मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा १५ वर्षिया सुप्रिया थापा, ५६ वर्षिय बोमा खनाल, १२ वर्षको समिर विक, बर्ष १० की सगुन विक, बर्ष ६२ को टोलबहादुर विक, बर्ष २१ की असिसा पचभैया, २५ वर्षिया अरुणा गाहा, बर्ष ६२ को मेगनाथ खनाल, बर्ष २२ कि गंगा विश्वकर्मा, बर्ष ५१ की दुर्गा विक, बर्ष २५ की पार्वती विक, बर्ष ३२ की यमकला खनाल र, ११ वडाकी ५५ वर्षिया राधामाया राना र ८ नम्बरकी १७ वर्षिया स्नेहा परियार रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
गल्याङ–९ साङलियाका २७ वर्षिया बसन्ती विश्वकर्मा र ४८ वर्षिया देवी विकको अवस्था गम्भिर रहेको स्याङ्जा प्रहरीले जनायो । प्रहरीका अनुसार बसन्तीलाई ढाडमा र देवीलाई टाउकोमा चोट लागेको छ । अवस्था सिरियस भएकाले मिसन अस्पताल पोखरा रिफर गरिएको डीएसपी अवस्थीले बताए । उनका अनुसार उनीहरुलाई साँझ ६ बजेर ५५ मिनेट जाँदा पाल्पा मिसन अस्पता पठाइएको हो ।