पोखरामा गड्यौला मलको व्यावसायिक खेती

पोखरा महानगरपालिका–११ घिमिरेचोक, काहुँका लक्ष्मी अधिकारी र टीकामाया मगर व्यावसायिक गड्यौला मल खेतीतर्फ आकर्षित बनेका छन् । निलबराही कृषि तथा भर्मि कम्पोस्ट एग्रो फर्म सञ्चालन गर्दै आएका उनीहरूले गड्यौला मल खेती गर्दै त्यसबाट पर्याप्त आम्दानी गरिरहेका छन्। उनीहरूले गड्यौला मलको खेतीसँगै तरकारी र घाँसको खेती पनि गरिरहेका छन् ।

उक्त फर्मकी सञ्चालक लक्ष्मी अधिकारीले पछिल्लो समयमा गड्यौला मलको माग बढ्दै गएको बताइन् । उनले आफ्नो फर्मबाट प्रतिकिलो ५० का दरले गड्यौला मल बिक्री भइरहेको जानकारी दिइन् । सुरुवातमा थोरै क्षेत्रफलमा गरिएको गड्यौला मलको खेती अहिले करिब डेढ रोपनी क्षेत्रफलमा गरिएको उनले बताइन् ।

गड्यौला मलको खेतीका लागि भक्तपुरको बोडेबाट गड्यौला ल्याउने गरिएको जानकारी दिँदै अधिकारीले आफूहरूले ठूलो मात्रामा गड्यौला मल उत्पादन गर्ने गरेको जानकारी दिइन् । प्रत्येक तीन महिनाको अवधिमा गड्यौला मल तयार हुने उनले बताइन् । हालसम्म एउटा याममा एक हजार किलोसम्म गड्यौला मल तयार हुने गरेकामा अब भने क्षेत्र विस्तारपछि दुई हजार किलोग्रामसम्म उत्पादन गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।

गड्यौला खेतीको क्षेत्र विस्तारका क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कास्कीबाट ५)०प्रतिशत अनुदानस्वरूप ४ लाख सहयोग प्राप्त भएको अधिकारीले बताइन् । गड्यौला मल प्रांगारिक खेतीका लागि अति उत्तम मानिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीले जनायो । विशेषतः थोरै क्षेत्रफलमा खेती गर्ने, कौसी खेती गर्नेका लागि रासायनिक मलको प्रयोगको विकल्पमा गड्यौला मल रहेको छ ।

‘पछिल्लो समयमा पोखरामा कौसी खेतीको चलन बढ्दो छ’ अधिकारीले भनिन, ‘थोरै मात्रामा कौसी खेती गर्नेका लागि यो रोजाइमा पर्ने गरेको छ ।’ रासायनिक मलको विकल्पका रूपमा यो मल रहेको उनले बताइन् । गड्यौलाले खाएर पचाएर दिशाको रूपमा फालेको मलमा भएका खाद्यतत्व पानीमा घुलनशील हुन्छन, जसलाई बिरुवाले सजिलैसँग ग्रहण गर्न सक्छ । यस मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ ।

यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण खेतीबालीका लागि बहुउपयोगी हुन्छ । व्यावसायिक गड्यौला मल खेतीमा सम्भावना देखेरै आफूहरू यसतर्फ आकर्षित बनेको टीकामाया मगरले बताइन् । व्यावसायिक गड्यौला मलखेतीका माध्यमबाट आयआर्जन गर्ने लक्ष्यका साथ आफूहरू निरन्तर यसमा लागिपरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *