प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेेका छा् ।
बिहीबार बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुगेका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्तीको भौतिक अवस्था तथा क्षतिको प्रत्यक्ष अवलोकन गरेका हुन् । निरीक्षणपछि प्रधानमन्त्रीसहितको टोली काठमाडौं फर्किएको छ ।
बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय छन् । बाढीलगत्तै उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका प्रधानमन्त्रीले प्रभावित क्षेत्रको प्रत्यक्ष अवस्था बुझ्न नुवाकोट पुगेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्थाबारे विस्तृत छलफल गरेको थियो।
सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्री शाहसहितको टोली आजै काठमाडौं फर्किएको हो ।