रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले प्रयास तीव्र पारेको छ। विगत दुई दिनदेखि जारी उद्धार अभियानअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्र पारिएको हो।
टनेलभित्र मानिसहरू फसेको सूचना प्राप्त भएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरेको हो। टोलीले सुरुङको मुखमा थुप्रिएको लेदो तथा भग्नावशेष पन्छाउँदै प्रवेशद्वार खोल्ने र भित्र फसेकाहरूको खोजी गर्ने कार्य जारी राखेको छ।
उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जनासहित कुल ८२ जनाको संयुक्त टोली घटनास्थलमा निरन्तर खटिएको छ।
तर, रसुवामा प्रतिकूल मौसम कायम रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङको मुखसम्म पुगेर भग्नावशेष हटाउने तथा भित्र प्रवेश गर्ने वातावरण तयार पार्न उद्धार टोलीले कठिन परिस्थितिमा काम गरिरहेको छ।
यसैबीच, उद्धारमा सहयोग गर्न भारतबाट आएको टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन (रेकी) गरी अवस्थाको मूल्यांकन गर्ने र आवश्यकताअनुसार थप उद्धार कार्यमा सहयोग गर्ने योजना बनाएको छ।
सरकारले सुरुङभित्र फसेका व्यक्तिहरूको अवस्था यकिन गर्दै सक्दो छिटो उद्धार गर्ने प्रयास भइरहेको जनाएको छ।



