बाढी प्रभावित क्षेत्रबाट ४०९ जनाको हेलिकोप्टरमार्फत उद्धार, सुरुङभित्र फसेकाको उद्धार प्रयास जारी

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धारलाई तीव्र पारिएको छ। आज बिहानैदेखि अहिलेसम्म १६ जना विदेशी नागरिकसहित ४०९ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

बाढीबाट प्रभावित नुवाकोट, रसुवा तथा आसपासका क्षेत्रमा जोखिममा परेका नागरिकलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ।

यसैबीच, नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि पनि सुरक्षा निकायले प्रयास जारी राखेको छ।

उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ जनासहित ९० जनाको संयुक्त टोली खटिएको छ।

टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। उक्त प्वालबाट डोरीको सहायताले उद्धार टोली तल झरेर भित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि उद्धारका लागि थप प्रयास थालिएको हो।

हाल सुरुङको प्वाल फराकिलो पार्ने, ठूला उपकरण प्रयोग गर्ने तथा आवश्यकताअनुसार ब्लास्टिङ गर्नेसम्मका विकल्प अघि बढाइएको छ। कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद सुरक्षाकर्मी तथा उद्धारकर्मीहरू अहोरात्र उद्धारमा खटिएका छन्।

बाढी प्रभावित क्षेत्रबाट ठूलो संख्यामा नागरिकको हवाई उद्धार भइरहेका बेला सुरुङभित्र फसेकाहरूको उद्धारलाई पनि उच्च प्राथमिकतामा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *