रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।
प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोगस्वरूप प्राप्त गरेका स्याटेलाइट फोन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।
उपलब्ध गराइएका २० फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी पठाइएको छ। ती स्याटेलाइट फोन आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिनेछ।
मोबाइल तथा टेलिकम नेटवर्कको पहुँच नपुग्ने दुर्गम र विपद् प्रभावित क्षेत्रमा समेत स्याटेलाइटमार्फत फोन तथा एसएमएस सेवा सञ्चालन गर्न सकिने भएकाले यसको प्रयोगले उद्धार तथा राहत कार्यमा सञ्चार सम्पर्क कायम राख्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विपद्का कारण नियमित सञ्चार सेवा अवरुद्ध भएका क्षेत्रमा स्याटेलाइट फोनमार्फत उद्धार टोली, सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच समन्वय सहज हुने विश्वास गरिएको छ।