रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाले आज पनि खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ ।
सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सुरुङ खन्ने तथा खोजी गर्ने काम जारी राखेको हो।
नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ उद्धार टोली निजी हेलिकप्टरमार्फत नुवाकोटको त्रिशूली पुगेको थियो। नेपाली सेनासँग समन्वय गरेर उक्त टोली माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङ क्षेत्रमा पुगेको थियो।
चिनियाँ टोलीले सोही दिन आयोजनाको सुरुङ क्षेत्रको रेकी गर्नुका साथै रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको समेत स्थलगत निरीक्षण गरेको थियो। दुवै आयोजनाको रेकीपछि टोलीले उद्धारको अवस्था तथा घटनाको वस्तुस्थितिबारे नेपाली सेनालाई जानकारी गराएको थियो।
भदौ १४ गते चिनियाँ उद्धार टोली रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो। यता, माथिल्लो त्रिशूली–३ ‘बी’मा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास थालेको थियो।
आज बिहान ९ बजेबाट भैरवनाथ गणका थप १६ जना सैनिक टोली उद्धार कार्यमा परिचालन गरिएको छ। थप जनशक्ति परिचालन भएसँगै सुरुङ क्षेत्रमा खन्ने तथा सम्भावित स्थानमा खोजी गर्ने कामलाई तीव्रता दिइएको छ।
बाढीपछि सुरुङको केही भाग प्रभावित भएकाले त्यहाँ मानिसहरू फसेको हुनसक्ने आशंका गरिएको छ। सुरुङभित्रको वास्तविक अवस्था पत्ता लगाउन नेपाली सेनाको टोलीले जोखिमका बीच खोजी कार्य जारी राखेको छ।