समाज

रसुवामा बाढीको कहर : सडक र पुलमा मात्रै २० अर्बको क्षति

रसुवामा आएको विनाशकारी बाढीले सडक तथा पुलको संरचनामा ठूलो क्षति पुर्‍याएको छ। सडक विभागको प्रारम्भिक अनुमानअनुसार रसुवामा सडक र मोटरेबल पुलमा मात्रै करिब २० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।

शव व्यवस्थापनमा सरकारको निर्णय : पहिचान नभएकाको डीएनए सुरक्षित राखिने

रसुवामा आएको विनाशकारी बाढीले सडक तथा पुलको संरचनामा ठूलो क्षति पुर्‍याएको छ। सडक विभागको प्रारम्भिक अनुमानअनुसार रसुवामा सडक र मोटरेबल पुलमा मात्रै करिब २० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।

बाढीका कारण करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको सडक विभागले जनाएको छ। ठाउँ–ठाउँमा सडक पुरिनुका साथै ठूलो मात्रामा कटान भएको छ। यद्यपि, सबै प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गर्न नसकिएकाले क्षतिको विवरण अझै प्रारम्भिक चरणमै रहेको विभागले जनाएको छ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेका अनुसार अहिले बेत्रावतीभन्दा माथिल्लो क्षेत्रमा पुग्न सकिने अवस्था छैन। प्राप्त प्रारम्भिक विवरणअनुसार बेत्रावतीभन्दा माथिको सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको उनले बताए।

पूर्वाधार विकास मन्त्रालयले पनि बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाएको छ।

यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक बन्द अवस्थामा छ। पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक खण्डमा समेत बाढीको असर परेको छ। कतिपय स्थानमा लेदोले सडक ढाकेको विभागले जनाएको छ।

बाढीका कारण कृष्णभिर क्षेत्रमा समेत सडक कटान भएको छ। क्षतिको अवस्था गम्भीर रहेकाले कतिपय स्थानमा तत्काल वैकल्पिक सडकमार्गबाट आवागमन सञ्चालन गर्नसमेत चुनौती देखिएको विभागले जनाएको छ।

४१ मोटरेबल पुल पूर्ण क्षतिग्रस्त

बाढीले सडकसँगै ४१ वटा मोटरेबल पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। क्षति भएका केही स्थानमा तत्काल आवागमन सञ्चालन गर्न बेलिब्रिज राख्ने योजना अघि सारिएको छ।

तर कतिपय स्थानमा क्षतिको अवस्था अत्यन्तै गम्भीर रहेकाले तत्काल बेलिब्रिज राख्नसमेत सम्भव नहुने सडक विभागले जनाएको छ।

आवश्यक स्थानमा बेलिब्रिज निर्माण तथा सडक पुनःस्थापनाका लागि नेपालले छिमेकी मुलुक भारत र चीनसँग सहयोग मागेको छ।

सडक विभागका अनुसार सडक तथा पुल पुनर्निर्माणमा मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

प्रवक्ता न्यौपानेका अनुसार पछिल्लो समय सडक निर्माणको लागतसमेत निकै बढेको छ। अहिले एक किलोमिटर सडक निर्माणमा २० करोड रुपैयाँभन्दा बढी खर्च लाग्न सक्ने अवस्था रहेको उनले बताए।

सडक अवरुद्ध हुँदा आपूर्ति प्रभावित

बाढी र पहिरोका कारण रसुवा, नुवाकोट तथा धादिङबेँशी क्षेत्रमा सडक सञ्जाल प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा मानिसको आवागमनसँगै दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित भएको छ।

सडक विभागले तत्काल वैकल्पिक सडक सञ्चालनका लागि काम अघि बढाइरहेको जनाएको छ।

नेपालले हरेक वर्ष बाढी तथा पहिरोका कारण सडक पूर्वाधारमा ठूलो क्षति व्यहोर्दै आएको छ। गत वर्ष पनि मनसुनजन्य विपद्का कारण मुख्य राजमार्ग तथा विभिन्न सडक संरचनामा ठूलो क्षति पुगेको थियो।

गत वर्ष क्षतिग्रस्त सडक संरचनाको पुनर्निर्माणका लागि मात्रै करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति तथा नारायणगढ–मुग्लिङलगायतका राजमार्गमा समेत ठूलो क्षति पुगेको थियो। ती राजमार्गको पुनर्निर्माणमा मात्रै करिब ३ अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।

यसपटक भने रसुवालगायतका क्षेत्रमा बाढीले सडक तथा पुलमा पुर्‍याएको क्षतिको प्रारम्भिक आँकडाले आगामी दिनमा ठूलो पुनर्निर्माण चुनौती थपिएको संकेत गरेको छ।

सम्बन्धित समाचार