भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, उद्धार, राहत व्यवस्थापन तथा जनधनको सुरक्षाका लागि सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ।
नेपाल प्रहरीले मंगलबारसम्म बाढी प्रभावित क्षेत्रमा विभिन्न प्रदेश तथा प्रहरी युनिटबाट ७ हजार ९९२ जना प्रहरी परिचालन गरेको जनाएको छ। बाढीपछि उत्पन्न बहुआयामिक समस्या समाधान तथा सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरी टोलीलाई प्रभावित जिल्लामा खटाइएको हो।
प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, वागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना परिचालन भएका छन्।
त्यस्तै, प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राप्रप्रप्र महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ तथा प्रयुताके जर्गाहबाट २२२ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
२४ घण्टा विपद् समन्वय केन्द्र
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरिएको छ।
यसैगरी विपद्सँग सम्बन्धित सम्पूर्ण कार्य तथा तथ्याङ्क व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ गठन गरिएको छ। केन्द्र २४सै घण्टा सञ्चालनमा रहने प्रहरीले जनाएको छ।
अस्पतालदेखि विमानस्थलसम्म विशेष प्रहरी टोली
बाढी तथा पहिरोमा घाइते भएकाहरूको उपचार र मृतकका परिवारसँग समन्वयका लागि प्रहरीले विभिन्न अस्पताल तथा विमानस्थलमा ‘फोकल डेस्क’ स्थापना गरेको छ।
काठमाडौंका वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३ र काठमाडौं मेडिकल कलेजमा ५ जना प्रहरी परिचालन गरिएको छ। त्रिभुवन शिक्षण अस्पतालमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ६२ जनाको टोली खटाइएको छ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी उपरीक्षकको नेतृत्वमा ८ जनाको टोली परिचालन गरी देशी तथा विदेशी नागरिकका शव व्यवस्थापन र घाइतेहरूको विवरण संकलनका लागि डेस्क सञ्चालन गरिएको छ।
ड्रोन र तालिमप्राप्त कुकुरबाट खोजी
बाढीग्रस्त क्षेत्रमा खोजी तथा अनुसन्धानलाई तीव्र बनाउन प्रहरीले प्रविधिको समेत व्यापक प्रयोग गरेको छ। रसुवा, नुवाकोट र धादिङमा गरी १२ वटा ड्रोन परिचालन गरिएको छ।
पैदल टोली पुग्न कठिन दुर्गम क्षेत्रमा ड्रोनमार्फत निगरानी तथा खोजी भइरहेको प्रहरीले जनाएको छ। खोजी कार्यका लागि ५ वटा तालिमप्राप्त कुकुर परिचालन गरिएका छन्।
सञ्चार सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रमा सूचना आदानप्रदानका लागि ७ वटा स्याटेलाइट फोन समेत प्रयोगमा ल्याइएको छ।
घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना प्रहरी तथा विभिन्न जिल्लामा शव पहिचान र व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन गरिएको छ। शवको वैज्ञानिक पहिचान तथा डीएनए परीक्षणका लागि फरेन्सिक विज्ञसहितको विशेष टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
घाइतेको तत्काल उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोली पनि प्रभावित क्षेत्रमा खटिएको छ।
विपद्को मौका छोपेर चोरी तथा ठगी गर्ने पक्राउ
बाढीपछि हुन सक्ने चोरी, लुटपाट तथा ठगी नियन्त्रणका लागि प्रहरीले प्रभावित क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ।
नारायणी नदीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरी चितवन मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको छ।
त्यस्तै, धादिङको गल्छी–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको बैंकको सेफ तोडेर नगद रकम निकालिएको घटनामा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर सामाजिक सञ्जालमार्फत रकम उठाउन खोजेको आरोपमा रामेछाप गोकुलगंगा–२ ठोसे बजारका ३२ वर्षीय सृजन कार्कीलाई समेत प्रहरीले पक्राउ गरेको छ।
यसैबीच धादिङको गल्छी–६ बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा १९ इन्च लम्बाइ र १६ इन्च चौडाइको बन्द सेफ फेला परेको छ। उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको छ।
परेवाटार–मलेखु क्षेत्रमा त्रिशूली नदीको बगरमा अर्को एउटा सेफ फेला परेको तथा मलेखु खोलामा देखिएको अर्को सेफ निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
नारायणी आसपास ७५७ प्रहरी परिचालन
बाढीको बहाव पहाडी क्षेत्रबाट तराईतर्फ झर्दै जाने क्रममा सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको छ।
चितवनको नारायणी नदी आसपास मात्रै ७५७ जना प्रहरी परिचालन गरिएको छ। भौतिक अवरोध हटाउने, बाढीले बगाएर ल्याएका सामग्री व्यवस्थापन गर्ने तथा जोखिमयुक्त क्षेत्रमा नागरिकलाई सुरक्षित राख्न प्रहरी टोली सक्रिय रहेको जनाइएको छ।
नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थामा नागरिकको सुरक्षा, उद्धार, राहत वितरणमा सहजीकरण तथा प्रभावित परिवारसँग समन्वयलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। साथै प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन र जोखिमयुक्त स्थानमा नजान आग्रह गर्दै सामुदायिक सचेतना कार्यक्रमसमेत सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।