स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वोस्तीमाथि सार्वजनिक सुनुवाइ नगरेको आरोप लगाउँदै कालोमोसो छ्यापेको घटनामा सोही वडाका वडा सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चापाकोट नगरपालिका–१ का ३१ वर्षीय सन्तोष थापा मगर रहेका छन्। मंगलबार (भदौ १६ गते) दिउँसो करिब १ बजे चापाकोट नगरपालिका–१ को वडा कार्यालय परिसरमा वडाध्यक्ष वोस्तीमाथि मोबिल तथा कालोमोसो छ्यापिएको थियो।
वडाका विभिन्न विषयमा पटक–पटक सहमति जनाए पनि सार्वजनिक सुनुवाइ नगरेको भन्दै केही युवाहरूले वडाध्यक्षमाथि कालोमोसो छ्यापेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार घटनालगत्तै थापा मगरलाई नियन्त्रणमा लिइएको थियो।
पक्राउ परेका थापा मगरलाई बुधबार (भदौ १७ गते) स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी अवस्थीले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।