रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई सरकारले १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। सरकारले दुई चरणमा गरी उक्त रकम स्थानीय तहहरूलाई उपलब्ध गराएको हो ।
बाढी आएलगत्तै सरकारले रसुवा र नुवाकोटका लागि एक/एक करोड तथा धादिङका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पहिलो चरणमा भदौ १२ गते ६ करोड ५० लाख र दोस्रो चरणमा भदौ १६ गते थप ६ करोड ५० लाख गरी कुल १३ करोड ५० लाख रुपैयाँ निकासा गरिएको हो ।
निकासा गरिएको रकममध्ये रसुवाको उत्तरगया गाउँपालिकालाई १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकालाई २ करोड, कालिका गाउँपालिकालाई ६० लाख र आमाछोदिङ्मो गाउँपालिकालाई ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
त्यस्तै, नुवाकोटको विदुर नगरपालिकालाई ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ७५ लाख, किस्पाङ गाउँपालिकालाई ५० लाख र तारकेश्वर गाउँपालिकालाई १ करोड रुपैयाँ निकासा गरिएको छ ।
धादिङतर्फ गल्छी गाउँपालिकालाई ६० लाख, सिद्धलेक गाउँपालिकालाई ४० लाख, गजुरी गाउँपालिकालाई ४० लाख र बेनीघाट रोराङ गाउँपालिकालाई ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
गोरखाको गण्डकी गाउँपालिकालाई ४० लाख तथा तनहुँको देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिकालाई पनि ४०/४० लाख रुपैयाँ निकासा भइसकेको छ ।
यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। उक्त रकममध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते १ करोड रुपैयाँ उपलब्ध गराइएको छ ।
प्राधिकरणलाई रकम उपलब्ध गराएपछि कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको जनाइएको छ। यस्तै, प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नदी तटीय क्षेत्र प्रभावित भएका छन्। बाढीले जनधनसँगै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ ।