पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन्। संघको ३६औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा तीन पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै गौतम ऐतिहासिक रूपमा अध्यक्ष पदमा निर्वाचित भएकी हुन्।
गौतमले ७ सय ५१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६ सय ३७ मत प्राप्त गरे। त्यस्तै उत्तममान बुद्धाचार्यले ६ सय १ र बलराम आचार्यले २ सय ५३ मत प्राप्त गरे। गौतमले पोखरेललाई १ सय १४ मतको अन्तरले पराजित गरेकी हुन्।
गौतमको निर्वाचित भएसँगै पोखरा उद्योग वाणिज्य संघको सात दशकभन्दा लामो इतिहासमा पहिलोपटक महिला अध्यक्ष बनेकी छन्। संघ विसं २०११ मा स्थापना भएको हो र लामो समयदेखि यसको नेतृत्व पुरुषहरूले गर्दै आएका थिए। यसअघि विन्दु कोइराला र हीरा भट्टराईले पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गरे पनि नेतृत्वमा पुग्न सकेका थिएनन्।
यसपटक भने गौतमले पहिलो प्रयासमै अध्यक्ष पद हात पार्दै संघको इतिहासमा नयाँ अध्याय थपेकी हुन्। उनी यसअघि संघको महासचिवको जिम्मेवारीमा थिइन्। कार्यसमिति सदस्य हुँदै उपमहासचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेकी गौतम अब संघको नेतृत्वमा पुगेकी हुन्।
२ हजार २ सय ७४ मत खस्यो
निर्वाचनमा संघका कुल २ हजार ७ सय ३१ सदस्य मतदाता रहेका थिए। अध्यक्ष तथा पदाधिकारीतर्फ २ हजार २ सय ७४ मत खसेको निर्वाचन समितिले जनाएको छ। अध्यक्ष पदमा चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए। गौतम र बलराम आचार्यले प्यानलसहित निर्वाचनमा भाग लिएका थिए भने अर्जुन पोखरेल र उत्तममान बुद्धाचार्य स्वतन्त्र रूपमा प्रतिस्पर्धामा थिए।
नयाँ कार्यसमितिमा को–को?
अध्यक्षमा गौतमसँगै वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला निर्वाचित भएका छन्। उनले १ हजार ४ सय ८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी टीकाराम सुवेदीले ७ सय ६० मत पाए।
उपाध्यक्ष (उद्योग) मा सौगात थापा १ हजार २ सय ७१ मतसहित निर्वाचित भएका छन् भने उपाध्यक्ष (वाणिज्य) मा मनोजकुमार श्रेष्ठ विजयी भएका छन्। महासचिवमा सुदीप प्रधानाङ्ग, कोषाध्यक्षमा देवेन्द्र प्रजू र उपमहासचिवमा प्रदीपराज भण्डारी निर्वाचित भएका छन्।
व्यवसायबाट संघको नेतृत्वसम्म
नवनिर्वाचित अध्यक्ष गौतमको व्यावसायिक यात्रा सामान्य पृष्ठभूमिबाट सुरु भएको बताइएको छ। करिब २६ वर्षअघि सानो चिया पसलबाट व्यवसाय सुरु गरेकी उनी क्रमशः व्यवसायिक क्षेत्रमा स्थापित हुँदै पोखरा उद्योग वाणिज्य संघको नेतृत्व तहसम्म पुगेकी हुन्।
अब गौतमको नेतृत्वमा संघले निजी क्षेत्रका समस्या, लगानीको वातावरण, पर्यटन तथा उद्योग व्यवसायको प्रवर्द्धनसँगै महिला उद्यमशीलता र युवा उद्यमशीलताको विषयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।
पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा पहिलोपटक महिला पुग्नु केवल निर्वाचनको परिणाम मात्र नभई पोखराको निजी क्षेत्रभित्र महिला सहभागिता र नेतृत्वको दृष्टिले समेत महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।