पृथ्वी राजमार्गअन्तर्गत भोटेकोशीको बाढीपछि अवरुद्ध बनेको कृष्णभीर सडकखण्डमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्यसहित सरकारले निर्माणको काम तीव्र बनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा गरेको सम्बोधनमा भदौ मसान्तसम्म कृष्णभीरको सडक सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए । सोही लक्ष्यअनुसार अहिले निर्माण कार्यलाई तीव्रता दिइएको हो ।
कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना जनशक्ति परिचालन गरिएको छ । रातिको समयमा पनि कामलाई निरन्तरता दिन सशस्त्र प्रहरी बल, नेपालले निर्माणस्थलमा फ्लडलाइट जडान गरिदिएको छ ।
फ्लडलाइटको व्यवस्थापछि निर्माण क्षेत्रमा दैनिक १२ देखि १४ घण्टासम्म काम भइरहेको बताइएको छ। नयाँ ट्रयाक निर्माणसँगै पहिरो नियन्त्रणका लागि सडकको माथिल्लो र तल्लो दुवै भागमा रोकथामका काम पनि अघि बढाइएको छ ।
कृष्णभीरबाहेक पृथ्वी राजमार्गका अन्य पाँच स्थानमा गएको पहिरो हटाउने र दुईतर्फी यातायात सञ्चालन गराउने कामसमेत एकसाथ भइरहेको छ।
भदौ १० गते आएको बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि भदौ १४ गते भोटेकोशीमा आएको बाढीले सडक थप भासिएपछि सोही दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको थियो। त्यसक्रममा प्रधानमन्त्री शाह र पूर्वाधारमन्त्रीबीच सडकलाई तत्काल सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो ।
त्यसपछि सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिक टोलीले चार दिनसम्म द्रुत अध्ययन गरेका थिए । अध्ययनका क्रममा कृष्णभीरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई तत्काल यातायात सञ्चालनका लागि उपयुक्त उपायका रूपमा अघि सारिएको थियो ।
सरकारले नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामका काम पनि अघि बढाएकाले निर्धारित समयभित्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।