रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि उद्धार तथा राहतका लागि परिचालन गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ जम्मा रहेको छ। त्यसैगरी, दुई वटा वाणिज्य बैंकमा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको छ।
बाढी प्रभावित क्षेत्रका पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।
भोटेकोशीमा बाढी आएपछि सरकारले प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम कोषमा जम्मा हुँदै आएको हो।
सरकारले संकलित रकमलाई बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका काममा उपयोग गर्ने जनाएको छ।