त्रिशूली–मुग्लिन करिडोरका ६ झोलुङ्गे पुल १० दिनभित्र सञ्चालनमा ल्याउने

बाढीका कारण क्षतिग्रस्त त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुल मर्मतलाई सरकारले तीव्रता दिएको छ। क्षति पुगेका २० वटा पुलमध्ये पहिलो चरणमा ६ वटा झोलुङ्गे पुलको मर्मत आगामी १० दिनभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

बाढीका कारण ती पुलका मानिस आवतजावत गर्ने भाग ९डेक० बगे पनि पुलमा प्रयोग भएका फलामे लठ्ठा भने सुरक्षित रहेका छन्। त्यसैले लठ्ठा पुनः व्यवस्थापन गरी नयाँ डेक जडान गरेर पुल सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

नयाँ डेक निर्माण तथा खरिदका लागि सरकारले भदौ २२ गते विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरिसकेको छ। सम्झौताअनुसार सम्बन्धित कम्पनीले आगामी १० दिनभित्र डेक उत्पादन गरी सरकारलाई हस्तान्तरण गर्नेछन्।

यता, पूर्वाधार मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमै परिचालन गरेको छ। प्राविधिकहरूले पुलका सुरक्षित फलामे लठ्ठा तान्ने, व्यवस्थापन गर्ने तथा मर्मतका लागि आवश्यक तयारी गरिरहेका छन्।

पहिलो चरणमा ६ वटा पुल सञ्चालनमा ल्याउने तयारीसँगै बाढीबाट क्षति पुगेका थप १४ वटा झोलुङ्गे पुलको मर्मत कार्य पनि अघि बढाइएको छ। सरकारले ती पुललाई आगामी एक महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

तर, करिडोर क्षेत्रमा बाढीले थप ३३ वटा झोलुङ्गे पुलमा ठूलो क्षति पुर्‍याएकाले तिनको मर्मतबाट मात्रै सम्भव नहुने र पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको छ।

ती पुलको पुनःनिर्माणका लागि आवश्यक फलामे लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायतका सामग्री खरिद गर्न सरकारले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ। बोलपत्र आगामी असोज ५ गते खोलिने तय गरिएको छ।

सरकारले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदन’ अनुसार बाढी आउनुअघि रसुवादेखि मुग्लिनसम्मको प्रभावित क्षेत्रमा कुल ६४ वटा झोलुङ्गे पुल सञ्चालनमा थिए। बाढीपछि तीमध्ये २० वटा पुल क्षतिग्रस्त भएका छन् भने ३३ वटा पुल पुनःनिर्माण गर्नुपर्ने अवस्था देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *