दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ गते (सेप्टेम्बर २३) साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ।
फ्लाइ दुबईको जहाज पोखरा अवतरण गर्ने अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पानीको फोहोरा (वाटर क्यानन) सहित जहाज र यात्रुलाई स्वागत गरिने भएको छ।
पोखरा आएका यात्रु अवतरण गरेपछि उक्त जहाजले पोखराबाट यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि उडान भर्नेछ।
विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाइ दुबईले एयरबस ३१९ र ३२० मार्फत पोखरा–दुबई उडान गर्नेछ। एयरबस ३१९ मा १४० देखि १५० तथा एयरबस ३२० मा १६० देखि १८० जनासम्म यात्रु क्षमता रहेको उनले बताए।
‘फ्लाइ दुबईले आवश्यकताअनुसार पोखराका लागि एयरबस ३१९ र ३२० आलोपालो गरी उडाउँछ,’ सूचना अधिकारी रावतले भने, ‘पहिलो उडानमा पोखरा आउने यात्रुको सङ्ख्या उल्लेख्य छ। पोखराबाट दुबई फर्कंदा जहाजले यात्रुसहित कार्गोसमेत लिएर जानेछ।’
उनका अनुसार फ्लाइ दुबईको पोखरा–दुबई उडानको नियमित तालिका साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्ने रहेको छ।