मुस्ताङमा जलवायु परिवर्तनका असर र त्यसबाट उत्पन्न चुनौतीबारे छलफल गर्न ‘घरपझोङ जलवायु सम्मेलन–२०८३’ आजदेखि सुरु भएको छ ।
घरपझोङ गाउँपालिकाको आयोजनामा हुने सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा देशभरका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहनेछ ।
सम्मेलनका लागि सोमबार साँझसम्म सातै प्रदेशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ पुगिसकेका छन् । ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सम्मेलनमा सहभागी हुने घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले बताए ।
सम्मेलनलाई स्थानीय सहभागितामूलक बनाउन गाउँपालिकाका पाँचवटै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थालाई व्यवस्थापनमा परिचालन गरिएको छ ।
जलवायु परिवर्तनको प्रभावबारे सन्देश दिन सम्मेलनस्थलमा २८ फिट अग्लो पृथ्वीको गोलाकार आकृति निर्माण गरिएको छ। ‘पृथ्वी रोइरहेको’ स्वरूपमा तयार गरिएको उक्त आकृति सम्मेलनको मुख्य आकर्षण बनेको आयोजकले जनाएको छ ।
मुस्ताङका स्थानीय कृषि उपज तथा उत्पादनको प्रवर्द्धनका लागि सम्मेलनस्थलमा ५० भन्दा बढी प्रदर्शनी कक्षसमेत राखिएका छन्। कृषि उत्पादनको प्रचारप्रसारसँगै स्थानीय उत्पादनलाई बाह्य बजारसँग जोड्ने उद्देश्यले स्टल राखिएको बताइएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनका कारण मुस्ताङसहित हिमाली क्षेत्रमा परिरहेको असर, चुनौती र अनुकूलनका उपायबारे छलफल गर्दै घोषणापत्र जारी गर्ने तयारी गरेको छ ।