प्रदेश

संविधानको पूर्ण कार्यान्वयनका लागि सबैको साझा प्रयास आवश्यक – मुख्यमन्त्री पाण्डे

शेयरfFacebook𝕏XWhatsAppTelegram

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री पाण्डेले संविधान दिवसको अवसरमा मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका लागि विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, समानता र नागरिक अधिकारका लागि भएका आन्दोलन तथा संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्ने व्यक्ति, राजनीतिक दलका नेतृत्व तथा नागरिक समाजका व्यक्तिप्रति उनले सम्मान व्यक्त गरेका छन्।

उनले संघर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको नेपालको संविधान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधारशिला भएको उल्लेख गर्दै संविधानले नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, समानता, सामाजिक न्याय, समावेशिता तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गरेको बताएका छन्। संविधानले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने मार्गनिर्देशन गरेको उनको भनाइ छ।

संविधान दिवस मनाइरहँदा देश विपद्को पीडामा समेत रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यस वर्ष बाढी, पहिरो र भूकम्पलगायत विपद्बाट ठूलो जनधनको क्षति भएको बताएका छन्। विशेषगरी रसुवामा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार, घाइतेको उपचार तथा प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि सम्बन्धित सबैमा उनले अपिल गरेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप प्रभावकारी बनाउन संविधानले परिकल्पना गरेको संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र सहअस्तित्वको भावना व्यवहारमा अझ सुदृढ हुनुपर्नेमा उनले जोड दिएका छन्। प्रदेशका संवैधानिक अधिकारको प्रभावकारी प्रयोग, कानुन कार्यान्वयन तथा वित्तीय संघीयतालाई सबल बनाउन संघ सरकारबाट आवश्यक सहजीकरण र सहयोगको अपेक्षा रहेको उनले बताएका छन्।

संघीयताको प्रभावकारी कार्यान्वयनबाट मात्रै संविधानले परिकल्पना गरेको समावेशी, सन्तुलित र जनमुखी शासन प्रणालीलाई थप संस्थागत गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले संविधानको रक्षा, यसको मर्म र भावना आत्मसात् गर्दै नागरिकका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नु राज्यका सबै तह, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र र आम नागरिकको साझा जिम्मेवारी भएको बताएका छन्।

उनले संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण, सुशासन, विकास र समुन्नतिका लागि सबैको एकता, सहकार्य र साझा प्रयास आवश्यक रहेको बताएका छन्।

गण्डकी प्रदेश सरकारले अघि सारेको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को संकल्पलाई सार्थक बनाउन सम्पूर्ण प्रदेशवासीको साथ, सहयोग र सहकार्य प्राप्त हुने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

मुख्यमन्त्री पाण्डेले पुनः संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

0 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *