स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीमा कालीगण्डकी नदीमा आएको बाढीले ३२ घरमा क्षति पुर्याएको छ। बाढीका कारण १०१ जना विस्थापित भएका छन्।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले असोज ११ गते बाढीबाट प्रभावित सेतीवेणी क्षेत्रको स्थलगत निरीक्षण गरी क्षतिको प्रारम्भिक विवरण संकलन गरेको हो। प्रशासनका अनुसार समयमै प्रभावकारी सूचना प्रवाह र उच्च सतर्कता अपनाइएकाले मानवीय क्षति हुन पाएन।
स्थलगत निरीक्षणका क्रममा १० वटा पक्की घरमा आंशिक र २२ वटा कच्ची घरमा पूर्ण क्षति पुगेको पाइएको छ। यस्तै, एउटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ।
बाढीबाट प्रभावित परिवारलाई तत्कालका लागि महाशिला माध्यमिक विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ। पूर्ण क्षति भएका घरपरिवारलाई गल्याङ नगरपालिका र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको समन्वयमा खाद्यान्न तथा गैरखाद्यान्न सामग्री उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रभावित क्षेत्रका खानेपानी, विद्युत् आपूर्ति, अस्थायी आवास तथा बाढीले थुपारेको डेब्रिस व्यवस्थापनलगायतका विषयमा स्थानीय तहसँग समन्वय गरिएको छ। डेब्रिस व्यवस्थापनका लागि असोज १४ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्मबाट १० जनाको टोली सम्बन्धित स्थानीय तहको संयुक्त टोलीसँग परिचालन गर्ने गरी समन्वय गरिएको छ।
प्रशासनले दीर्घकालीन रूपमा बस्ती स्थानान्तरण, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, प्रभावित परिवारको आवास पुनर्निर्माण तथा पुनःस्थापना, शिला–शालिग्रामको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा संघ तथा प्रदेश सरकारसँग समेत समन्वय गरिरहेको जनाएको छ।




