बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
सोमबार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेको थियो। ढिस्को खस्दा सडक स्तरोन्नतिको काममा खटिएका मजदुरहरू पुरिएका हुन्।
घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको छ। दुवै जनालाई माटोको ढिस्कोमा पुरिएको अवस्थामा उद्धार गरिएको थियो।
यस्तै, घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनलाई घटनास्थलबाट तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ।
सडक स्तरोन्नतिको क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेपछि दुर्घटना भएको प्रारम्भिक विवरण छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।




