गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेेेका छन् ।
उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको बताए ।
पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको उल्लेख गर्दै उनले पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नु आफ्नो प्राथमिकता रहने बताए ।
पाण्डेले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रूपमा तीन पटक काम गरिसकेको तथा ४५ वर्षभन्दा बढी समय पार्टी सदस्यका रूपमा सक्रिय रहेको अनुभवलाई आगामी राजनीतिक यात्राको आधार बनाउने बताए । युवा पुस्तासँगको निरन्तर सहकार्य र युवामैत्री कार्यशैलीलाई समेत प्राथमिकतामा राख्ने उनको भनाइ छ।
‘हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ,’ पाण्डेले भने ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेर काम गर्दै आएको उल्लेख गर्दै पाण्डेले सरकार सञ्चालनका क्रममा पार्टीका मूल्य, मान्यता र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई मूल आधार बनाएको बताए ।
पार्टी संगठन र सरकार सञ्चालनका क्रममा प्राप्त अनुभवलाई आगामी दिनमा कांग्रेसको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सुशासन, पारदर्शिता, जवाफदेहिता, निष्पक्षता, संगठन सुदृढीकरण, विचारमा स्पष्टता र संगठनमा एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए ।
महाधिवेशनका क्रममा प्राप्त हुने सुझाव, विचार, संवाद र सहकार्यलाई आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएको उनको भनाइ छ।
पाण्डेले कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा शुभचिन्तकको साथ र सहयोगबाट आफू उपसभापति पदमा निर्वाचित हुने विश्वास व्यक्त गरे ।




