जिल्ला प्रशासन कार्यालय स्याङ्जा र एकीकृत सेवा कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा गल्याङ नगरपालिका क्षेत्रभित्र सञ्चालित होटल तथा रेष्टुरेण्ट, किराना पसल, मार्ट, स्टोर्स, पाउरोटी उद्योग र दुग्ध डेरीमा बजार अनुगमन गरिएको छ।
अनुगमनका क्रममा विभिन्न प्रकृतिका २२ वटा व्यवसायको निरीक्षण गरिएको हो। जसमा होटल तथा रेष्टुरेण्ट र खाजा घर ६ वटा, खाद्य किराना पसल, मार्ट तथा स्टोर्स १३ वटा, पाउरोटी उद्योग १ वटा र दुग्ध डेरी २ वटा रहेका छन्।
अनुगमनका क्रममा अखाद्य घिउ, रङ्गिन झिलिङ्गा, रेष्टुरेण्टमा प्रयोग भइरहेको पकाउने तेल तथा म्याद गुज्रिएका पापड, चाउचाउ, मसला, जुसलगायतका सामग्री फेला परेका थिए। ती सामग्री उपभोगका लागि अनुपयुक्त देखिएपछि १७ हजार २६५ रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको छ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, एकीकृत सेवा कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, गल्याङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्याङ्जाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा व्यवसायीहरूलाई खाद्य सामग्रीको उत्पादन तथा उपभोग्य मिति अनिवार्य जाँच गर्न, म्याद गुज्रिएका र गुणस्तरहीन वस्तु बिक्री तथा प्रयोग नगर्न, भान्छा र पसलको सरसफाइमा ध्यान दिन, मूल्यसूची राख्न, नापतौलमा शुद्धता कायम गर्न तथा ग्राहकलाई अनिवार्य बिल उपलब्ध गराउन सचेत गराइएको छ।
त्यस्तै, उपभोक्तालाई पनि खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, मूल्य र गुणस्तर जाँच गरेर मात्रै खरिद गर्न तथा म्याद गुज्रिएका वा शंकास्पद सामग्री बिक्री गरेको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।
बजारलाई स्वच्छ, सुरक्षित र उपभोक्तामैत्री बनाउन नियमित अनुगमनसँगै व्यवसायीलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको कार्यालय प्रमुख निराजन शर्माले जानकारी दिए । उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि सरकारी निकाय, स्थानीय तह, व्यवसायी, उपभोक्ता तथा सञ्चारमाध्यमबीच समन्वय र सहकार्य आवश्यक रहेको उनकाे भनाई छ ।




