कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आज (मंगलबार) देखि सुरु हुँदैछन्। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि पाँच खेलका प्रतिस्पर्धा भने आजैदेखि सुरु हुन लागेका हुन्।
आजदेखि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।
राखेपले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगितामा समावेश कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन्। बाँकी नौ खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुमका साथै छिमेकी लुम्बिनी प्रदेशका नेपालगञ्ज र बर्दियामा आयोजना हुनेछन्।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। सहभागी खेलाडीहरूले ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
यसपटकको राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ। यसले खेलाडीलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ। मंसिर २७ गते प्रतियोगिताको समापन गर्ने कार्यक्रम तय गरिएको छ।



