‘उज्यालोले दिलायो खुशी’

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिपत्र संवाददाता (मुस्ताङ)


हिमाली क्षेत्रका जनता भन्छन, अव उज्यालोमा बस्न पाइने भो

मुस्ताङमा चारसय सोलार बत्ति जडान

मुस्ताङ उज्यालो जिल्ला घोषित । चालु आवमा उज्यालो प्रदेश घोषण गरिने ।

मुस्ताङको लोमान्थाङ्ग गाउँपालिका अन्तर्गत आर्कामा विजुलीको स्वीच बाल्दै मुस्ताङ जिल्लालाई उज्यालो जिल्ला घोषणा गर्दै गण्डकी सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत ।

खुशी हुनको लागि ठूलो उपहार चाहिदैन, सानो चीज भएपनि पुग्छ । यो उखान अहिले बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–२ की सुनु गुरुङमा लागू भएको छ । अध्याँरोमा नै जीवनको लामोसमय विताएकी उनले रातको उज्यालो कस्तो हुन्छ ? उनले कहिलै महशुस गर्न पाइनन् । हिमाली क्षेत्र । अध्याँरोको काम । जुनको उज्यालोमा पनि औँसीकै रात ठान्ने उनको दिनचर्या कहिलै फेरिन सकेको थिएन ।
उनी मात्र होइन मुस्ताङका अधिकाशं बासीन्दा अध्यारोमा नै रात काट्न बाध्य थिए । सोही ठाउँकी फुङवा गुरुङले मट्टितेलको उज्यालो नै जिविनको ६६ औ बसन्त पार भएको बताउछिन । भन्छिन, ‘टुकी बत्तिको उज्यालोले के नै हुन्छ र ? न मोवाइल चार्ज गर्न मिल्छ ? न टच लाइट नै ।’ उनले मोवाइल चार्ज गर्न पनि अन्यत्रै जानुपर्ने बाध्यता रहेको बताइन् । उनीजस्तै यस वडाका सिंगो बासिन्दाको समस्या पनि उस्तै हो । यहाँका स्थानीयको यो समस्या भने अव हटिसकेको छ । अध्यारोमा रात विताउनुपर्ने बाध्यता टरेको छ ।
राष्ट्रिय प्रशारण लाइनबाट बन्चित भएको हिमालपारीको जिल्ला मुस्ताङमा चारसय सोलार बत्ति जडान गरिएसंगै स्थानीयको अध्याँरोको बास हटेको हो । प्रदेश सरकारको ७५ र स्थानीयको २५ प्रतिशत लगानीमा सोलार बत्ति जडान गरिएको छ । गाउँमा सोलार जोडिएसंगै यहाँका स्थानीयमा उज्यालो छाएको छ । उनीहरु जिवनकै ठूलो खुशि हाँसिल गरेको बताउँछन् । यहाँको बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिकाको ५ नम्बर वडाको साङ्ता, लोमन्थाङ्ग गापाको १,२,३,४ वडाको छोसेर, अर्का, सम्जुङ, भर्चा, न्यानोल, ढुक, ठिगर फुवा, नाम्ग्याल किम्लिङ, न्याम्डो, चुङचुङ र लो–घेकर दामोदरकुण्ड गापाको ५ नम्बरस्थित ताङ्गया र ध्येमा गरि ४ सय सोलार बत्ति जडान गरिएको छ । सोलार जडानको लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ६८ लाख ६१ हजार विनियोजन भएको थियो ।
मुस्ताङका केही भागमा केन्द्रिय प्रशारण लाइन जडान भएपनि अधिकाशं गाउँ भने उज्यालोविहिन थिए । लोमान्थाङ्ग गाउँपालिका–२ का ३६ बर्षिय टासिलुटु गुरुङले गाउँमा विजुली आएसंगै मान्छेको अनुहारमा उज्यालो छाएको बताए । भन्छन, ‘एउटा मोवाइल फुल चार्ज गर्नको लागि चारदिन लाग्थ्यो । विग्रिएका गाडी, मोटरसाइकलको व्याट्री ल्याएर चार्ज गथ्र्यौ । अव भने त्यो समस्या हटेको छ । अहिले एक घण्टामै मोवाइल चार्ज हुन्छ ।’ यसभन्दा पहिला एक्याप नामक संस्थाले सोलार बत्ति जडान गरेको थियो । ४५ वाडको बत्ति जडान गरिएको भएपनि एक÷दुईवटा घर बाहेक अन्यत्र उज्यालो हुन सकेन । उनका अनुसार एउटा सोलार ४ वटा घरमा जडान गरिएको थियो । यसैले पनि उज्यालो हुन सकेन । ‘टिकाउ पनि भएन’ टासिलुटु भन्छन, ‘नाम मात्रको सोलार हो त्यो । आजभन्दा १२ बर्षअघि जोडिएको थियो । न उज्यालो भयो न त टिकाउ नै ।’ सोलार आयो भनेर मट्टितेलको टुकी बत्ति विस्थापित गराएका स्थानीयले अहिले पुन स्थापित गर्न नसकेको बताउछन् । स्थानीयका अनुसार टुकी बत्तिको चलन हराउदै गयो । अर्का स्थानीय ३७ बर्षिय लाप्पा छिरिङले बत्तिकै कारण निकै दुख व्यहोर्नुपरेको बताए । स्थानीयबासी संघियतापछिको पहिलो विकास उज्यालो मुस्ताङ रहेको भन्दै यतिबेला खुशीयाली मनाएका छन् ।
गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले आफ्नो निर्वाचन क्षेत्रको अधिकांश गाउँ अध्यारोमा नै बस्न बाध्य भएको बताउदै प्रत्येक घरघरमा एक÷एक वटा सोलार जडान गरिएको बताए । उनले भने, ‘विग्रिएमा पनि हामीले मर्मत गर्छौ । वेवारिसे बनाएर छाडिदैन । यसैमाथी राष्ट्रिय प्रशारण लाइन ल्याउने प्रयास पनि जारी छ । राष्ट्रिय लाइन ल्याउन कर्यौ बर्ष लाग्न सक्छ त्यसैले तत्काल समस्या हल गर्न सोलान जोडेका हौ ।’ राष्ट्रिय प्रशारण लाईन पु¥याएर मात्र सौर्य उर्जा जडान गर्ने गण्डकी सरकारको लक्ष्य अनुसार सम्भव नभएपछि सौर्य उर्जा जडान गरिएको उनले बताए । विधुत प्राधिकरणसंगकै सहकार्यमा काम गरेको उनको भनाई छ । सोलार जडानसंगै पहिलोपटक मुस्ताङ जिल्लालाई उज्यालो जिल्ला घोषणा गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले एक कार्यक्रमबीच उज्यालो जिल्ला घोषण गरेका हुन् ।
गण्डकी प्रदेशलाई दुई बर्षभित्र उज्यालो प्रदेश घोषणा गर्ने लक्ष्यअनुरुप सरकारले पहिलो बर्षदेखि नै राष्ट्रिय प्रशारण लाइन नपुगेको ठाउँमा सोलार बत्ति जडान गर्ने लक्ष्य लिएको थियो । पहिलो बर्षको नीति तथा कार्यक्रममा समेटिएको यो अभियानले दोस्रो र तेस्रो बर्षमा पनि निरन्तरता पायो । प्रदेशभर ११ सय ५ वटा सोलार बत्ति जडान गर्ने कार्य भइरहेको बताए । यसको लागि मन्त्रालयले करिब २ करोड रुपैया विनियोजन गरेको छ । अहिलेसम्म प्रशारण लाइन नपुगेको मनाङ, म्यादी र गोरखाको हिमाली क्षेत्रमा सोलार बत्ति जडान गरिने छ । मन्त्रालयका अनुसार गोरखाको धार्चे र चुम्नुब्री गापामा ४ सय ६०, म्याग्दीको धवलागिरी गापामा एकसय २० र मनाङको नार्पाभूभि गापामा एकसय २५ वटा सोलार जडान गरिनेछ । यसको लागि मन्त्रालयबाट मनाङमा २० लाख ६८ हजार, म्याग्दीमा २० लाख ७३ हजार र गोरखामा ८० लाख रुपैया विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *