- लेखकहरू सम्पन्न र विद्वान् हुँदा साधारण ज्यामीहरूका कथा यथार्थवादी ढङ्गले लेखिएनन् । लेखकहरू सहरका हुने भएकाले गाउँका कथा यथार्थवादी रूपमा आएनन् ।
साहित्य एक व्यापक विधा हो, यसमा लेखकहरूलाई संरचनागतबाहेक अन्य बन्धनमा बाँध्न खोजिँदैन । यो जति पनि फैलिन सक्छ, जुनसुकै कुनामा गएर बस्न सक्छ । अर्कोतिर अर्थशास्त्र तथ्याङ्कहरूमा, स्थापित सिद्धान्तहरूमा वा गणित प्रयोग गरेर बनाइएका मोडेलहरूमा आधारित भएर सावधान भएर बोल्नुपर्ने क्षेत्र हो । साहित्य र अर्थशास्त्र नदीका दुई किनार भने होइनन् । एकातिर आर्थिक नीतिहरूले साहित्यको संवर्द्धनमा असर पार्छन् ।
यो वर्षको बजेटमा विदेशबाट ल्याइएका पुस्तकमाथिको १० प्रतिशत भन्सार कर लगाउँदा भएको व्यापक प्रतिक्रिया यसको एक उदाहरण हो । अर्कोतिर साहित्यले अर्थशास्त्रलाई टेको दिन्छ । रूद्रराज पाण्डेको रूपमती उपन्यासमा प्रमुख पात्र रविलालले लगाएको कपडाको वर्णनले विसं १९९० तिरको नेपालको मध्यमवर्गीय व्यक्तिले उपभोग गर्ने प्रवृत्तिबारे जान्न सकिन्छ भने बालकृष्ण समको मेरो कविताको आराधन पढ्दा राणाहरूले विदेशी आयातलाई कसरी हेर्थे भन्ने पनि जानकारी हुन्छ । सरदार भीमबहादुर पाँण्डेको त्यस बखतको नेपालले जुद्धशमशेरका पालाको नेपालको आर्थिक कथा भन्छ भने हर्क गुरूङको मैले देखेको नेपालले विसं २०३० को सेरोफेरोको नेपालको आर्थिक तथा सामाजिक चित्र देखाउँछ । देवकोटाको मुनामदन र सीमापारिबाट लेखिएका लीलबहादुर क्षत्रीका बसाइँ र ब्रह्मपुत्रको छेउछाउ जस्ता साहित्यिक कृतिमा संवेदनशील राज्यको संरक्षणको अभावमा पहाडका हन्डर खाएर विदेश गएका नेपालीका कथा भेटिन्छन् ।
साहित्यले अर्थशास्त्रलाई धेरै मद्दत गर्न सक्छ । पुरानो युगको खाद्यान्न उपभोगको कुरा गरौं । नेपालको अर्थशास्त्र मात्रै पढ्ने हो भने खाद्यान्न उपभोगको तथ्यांक धेरै अघिसम्म जाँदैन । गरूडनारायण गोङ्गलले विसं १८४६ मा लेखेको सम्झना पढेर हामीलाई भक्तपुरे मल्ल राजा रणजित मल्लको खानाका लागि मसिना चामल, छाँटाको दाल, मुगीको दाल, घिउ, तेल, अचार, रोटी चाहिन्थ्यो भन्ने जानकारी हुन्छ । पृथ्वीनारायण शाहका समकालीन कवि सुवानन्ददासले गोर्खाली महाराजको ज्युनारको यसरी वर्णन गरेका छन् ।
नेपालको सिन्की लुटि मंरातको घिले भुटि
पालपाको ल्याउ हिङ जिरो रि सिङ को ल्याउ पिरो
तनहु“को भातसित भिर्कोटको दालसित
कन्चन कटौरा भरी स्वर्णका थलिया भरि
अष्टदल चौकी बसी गंगाजल झारी भरिस
पुरुव मुहुडा गरी
महाराजको जिउनार बनाऊ है ।
अर्थशास्त्र प्रायः ‘औसत’ जनताले के गर्थे, के खान्थे, मल्लकालबाट शाहकाल आउँदा ‘औसत’ जनताको जीवनस्तरमा कस्ता परिवर्तन आए जस्ता प्रश्नको उत्तर खोजिरहेको हुन्छ । गोङ्गलले राजाको जीवनको लेखेको जस्तै अरु कसैले साधारण नेपालीको तत्कालीन भोजनबारे लेखिदिएको भए अन्य विस्तृत तथ्याङ्क नहुँदापनि अर्थशास्त्रीको ‘औसत’ नेपालीको जीवनस्तर सम्बन्धी जिज्ञासाको उत्तर मिल्थ्यो ।
अब अर्काे उदाहरण हेरौं । आर्थिक नाकाबन्दीहरू हामीले नचाहँदा नचाहँदै हाम्रो जीवनको अभिन्न अनुभव भएका छन् । हामीलाई अहिले पनि नाकाबन्दीले के गर्छ भन्ने विस्तृत विवरण थाहा छैन । जतिखेर गोर्खा र काठमाडौंको लडाइँ भइरहेको थियो, त्यतिखेर, विशेषतः १८२० सालपछि काठमाडौंमा चरम आर्थिक नाकाबन्दी गरियो । मुख्यगरी नुन र कपासको नाकाबन्दीले काठमाडौंलाई समस्यामा पा¥यो । विसं १८१२ मा जन्मेका उदयानन्द अर्ज्यालको वर्णन (जुन पछि पृथ्वीन्द्रोदय महाकाव्य भनेर प्रकाशित गरिएको छ) मा एक ठाउँमा जयप्रकाश मल्लले ललितपुरका प्रधानहरूलाई रिसाएर ‘तिमीहरू चोलो सिएर राजकोष भर्ने मान्छेले के गोर्खासँग लड्ने विदेशी सेना पाल्न सक्छौ’ भनेका छन् । कपडा बुन्ने पेसा ललितपुरका लागि त्यो बेला महत्त्वपूर्ण भएर त्यसो भनेका हुन् भने यो नाकाबन्दीले ललितपुरलाई गम्भीर प्रभाव पारेको हुँदो हो भन्ने अड्कल गर्न सकिन्छ । ललितपुरे राजा तेजनरसिंह मल्ल त गोर्खासँग नलडी भक्तपुरतिर भागेका थिए । यस्तै नुन नभएर पनि मानिसहरूले धेरै दुःख पाएका थिए । कवि अज्र्यालले नाकाबन्दीले पारेको मुद्रास्फीतिलगायत प्रभावबारेमा यस्तो लेखेका छन् ।
चांगा च्यासिङ रुपैयाँ दश गनी त दिया थान दुवै मिल्छ जाँहा
तेल घ्यु बेगर जोगी झांञी त प्रजा नङ्गी अंगी छ ताँहाँ
सोहोरा ञिटमा छ मुख नुनकी सुख भोटिया बाज ताँहाँ
पंछी नक्कलका प्रजा घरअघरै रोदनै भार माहा
अर्थात् ‘१० रूपैयाँमा जम्मा दुई थान च्यासिङ कपडा मिल्छ । तेल, घिउ नभएर प्रजाहरू जोगी जस्तै धुस्रे भएका छन् । मान्छेहरू नुनको तलतल मेट्न इँटामा मुख लगाएर चाटिरहेका छन् । भोटिया बाज आउँदा चराहरू रोइकराइ गरे जस्तो घरघरै रोइकराइ छ ।’ अर्ज्यालका अनुसार २५० वर्षअघि आर्थिक नाकाबन्दी हुँदा काठमाडौं यस्तो थियो ।
पुराना जमानाको म्याक्रोइकोनोमिक तथ्याङ्कहरूको अध्ययनमा प्राध्यापक एङ्गस म्याडिसनको निकै योगदान छ । उनका अनुसार संसारको अर्थतन्त्र समग्रमा सन् १००० देखि सन् २००० सम्म ३०० गुणा बढ्यो । मुख्यगरी यो वृद्धि सन् १८२० पछि भएको थियो । औसतमा एक विश्ववासीको कमाइ सन् १००० मा रू. १०० थियो भने सन् १८२० मा जम्मा १५० । हाम्रा पुर्खाहरूको कमाइ यो गतिमा पनि वृद्धि नभएको हुँदो हो । किनकि यो वृद्धि पनि धेरैजसो प्रमुख एसियाली र युरोपेली मुलुकमा भएको थियो । सन् १८२० तिरको अरु कुरा जान्न हाम्रो मुलुकमा अर्थशास्त्रका तथ्याङ्कहरू सङ्कलन गर्ने प्रचलन थिएन । नेपालमा त अझ राजाको सम्पत्ति गन्न हुँदैन भन्ने प्रचलन थियो ।
सन् १८२० सम्म आइपुग्दा युरोपमा प्रिन्टिङ प्रेसको निकै विकास भइसकेको थियो । जर्मनीको मेन्ज सहरमा गुटेन्बर्गले बनाएको प्रिन्टिङ प्रेसको प्रमुख उद्देश्य धार्मिक किताब छाप्ने थियो । अमेरिकी अर्थशास्त्री ब्राड डेलोङका अनुसार जर्मनीमा त्यो बेला एउटा किताबको मूल्य एउटा बिएमडब्लू कारको जस्तो पथ्र्यो (जर्मन श्रमको मूल्यको हिसाब गरेर अहिले हेर्दा) । नयाँ प्रेस सुरूमा भगवान्, त्यसपछि ऐतिहासिक कथाका नायक, त्यसपछि अलौकिक र तिलस्मी चरित्रहरू छाप्नमा केन्द्रित भयो । सामाजिक यथार्थवादी धाराका साहित्यिक पुस्तक पछि आए । डिकेन्सले लन्डनको श्रमबजार र शोषणको यथार्थवादी चित्रणका कथा लेख्नु, जेन अस्टेनले प्राइड एन्ड प्रेजुडिस र एमिली ब्रोन्टीले वुदरिङ हाइट्समार्फत बेलायती गाउँका विषमताका कथा लेख्नुअघि नै रबिन्सन क्रुसो र गुलिभर ट्रावल्सले प्रिन्टिङ प्रेसको उपभोग सुरू गरेका थिए । यसका पछाडि जनसाधारणका कथा छापाका अक्षरमा लेखिन योग्य छैनन् वा हुँदैनन् भन्ने विचार हुँदो हो । त्यसबाहेक लेखकहरू प्रायः पुरूष हुने भएकाले महिलाका कुराहरू लेखिएनन् । लेखे पनि महिलाको मनोविश्लेषण त्यसरी नै गरियो, जसरी पुरूषमनले महिलाले सोच्छन् भन्ने सोच्थ्यो । लेखकहरू सम्पन्न र विद्वान् हुँदा साधारण ज्यामीहरूका कथा यथार्थवादी ढङ्गले लेखिएनन् । लेखकहरू सहरका हुने भएकाले गाउँका कथा यथार्थवादी रूपमा आएनन् ।
नेपालीमा सुरूमा लेखिएका पुस्तक महाभारत वा रामायण आदि मुलुकमा लोकप्रिय धार्मिक ग्रन्थका नेपाली अनुवाद थिए । मूल महाभारत वा रामायणको कथा लेखन उत्कृष्ट छ । महाभारतमा धेरै उपकथा छन् । शान्तिपर्वमा शासन कसरी गर्ने भन्नेबारे लामो चर्चा छ । धेरैजसो प्रश्न कथाहरूको उदाहरण दिएर अविस्मरणीय बनाई उत्तर दिइएका छन् । र पनि हरेक कथा या त राजाका छन्, या ऋषिका । हरेक कथामा राजा, ऋषि वा अन्य कुनै अलौकिक पात्र हुन्छन् । साधारण मान्छे मात्र भएका कथा छैनन् भन्दा पनि हुन्छ । महाभारत र रामायणको प्रभाव भएको हाम्रो मुलुकमा यही शैलीको प्रभाव लामो समय रहिरह्यो ।
अर्थशास्त्रीहरूका लागि औसत जनताका दुःखकष्टको वर्णन राजामहाराजाको जत्तिकै महत्त्वपूर्ण हो । तर पुरानो साहित्यमा यो सजिलैसँग पाइँदैन । यसको असर गोर्खा राज्य विस्तारकालको मुलुकको जनजीवन बुझ्न सक्ने हाम्रो क्षमतामा परेको छ । हामीलाई थाहा छ, धेरै कारणले लडाइँ सजिलो थिएन । दामोदर पाँडेको पालामा विसं १८५८ मा एक मुरी बिजनको खेतको कर रू. १ थियो भने अङ्ग्रेजसँग युद्ध गर्ने बेला त्यसको १३ वर्षपछि विसं १८७१ मा रू. ५ । लडाइँ बढ्दै जाँदा धेरै नेपालीहरू यस्तै बढ्दो करको मारमा परेका थिए । घरका छोराहरू लडाइँमा घिसारेर लगिए । कैयौं बुहारी सती पठाइए ।
पुराना नेपाली कवि वा लेखकले विसं १८७३ सम्मको राष्ट्र विस्तारका क्रममा बढ्दो पोत तिर्नुपरेका रैकर जग्गामा बसेका रैतीहरू, कुत बढाबढ गरेर जग्गाको उत्पादन बचत खेती गर्नेको हातबाट खेती नगर्नेको हातमा पु¥याउँदा दुःखी भएका किसानहरू, झारामा काम गर्नुपरेका व्यक्ति, धोक्रोमा पैसा बोकेर तिर्जा किन्न आउने धोक्रे र तिनीहरूबाट सताइएका किसानको कथा पनि लेखिदिएको भए हामीलाई वसन्तपुर दरबारमा कसले कसलाई काट्यो भन्ने इतिहास भनेर पढाइने कर्कश व्याख्यानबाट केही राहत मिल्थ्यो । एकीकरणका बेला र त्यसपछि पनि लड्न घरबाट उठाएर लगिएका जवानहरू, युद्धले उठीबास लगाएका व्यक्तिहरू, रणमा घाइते भएर उपचार नपाई बिस्तारै बितेका योद्धाहरू, धुकचुक भएर छोरा फर्कने दिन कुरेका आमाहरू, उत्ताउलो भएर लड्न आफैं सुरिएर हिँड्ने अल्लारे युवाहरू, वीर सेनापतिहरूले बूढो उमेरमा उठाएर लगेका कलिला महिलाहरू, वीरहरूको मृत्युपछि जबर्जस्ती सती पठाइएका महिलाहरू, युद्ध सकिएपछि पैसाको आशामा लाहोर जाने युवाहरू, पन्जाबको पतनपछि लाहोरको साटो मुग्लानमा गएर ब्रिटिस सेनामा भर्ना हुने नेपाली ठिटाहरूको धेरै कथा हाम्रो साहित्यको त्यसबेलाको अल्पविकासले छुटेको छ ।
लडाइँ शौर्यगाथा मात्र होइन, लडाइँपछि जनतालाई केही भएको थिएन, जे हुनु भइहाल्यो भन्ने जस्ता कुरा सही होइनन् । लडाइँ भनेको भयावह कुरा हो । यो कुरा अर्थशास्त्र र साहित्य दुवैमा आउन जरूरी छ । नेपालीहरूले धेरै लडाइँमा भाग लिएका थिए । कुनै हाम्रो आफ्नै मुलुकका लडाइँ थिए, कुनै अरुका लागि लडिएका । तर सबैको असर हाम्रा सर्वसाधारणलाई विभिन्न तरिकाले परेका थिए । लडाइँका आयामहरूलाई सबै आयामबाट हेरिनुपर्छ । गन विद द विन्डमा मार्गरेट मिचेलले लडाइँमा युवाहरू गएपछि घरमा बसेका महिलाहरूको दशाको कथा भने झैं हाम्रामा त्यसरी कथा भनिएनन् । केही अपवाद नभएका होइनन् । भाषावंशावलीमा पृथ्वीनारायण शाहले कब्जा गरेपछिको कान्तिपुरको वर्णन गर्दै भनिएको छ, ‘..येक नेवारका स्वास्नी अति राम्री थिइन्, गोर्षामहाराजबाट प्रवेश ग¥या उप्रान्त डराई पैह्ले स्त्रीलाई मारी पछिबाट आफूले पनि ज्यान त्याग ग¥यो ।’ लडाइँको विभीषिकाको वर्णन गर्दै सुन्दरानन्द बाँडाले आफ्नो त्रिरत्न सौन्दर्यगाथामा लेखेका छन–
‘तहाँ रणभूमिमा श्येन भया, उलुक भया, काग भया, मसानकाग भया, ग्रिध्र भया,.. , स्याल भया, .. पशुजात पन्छीजातहरू शूरवीर सिपाहीका आलो मासु आलो रगत बोसो गिदी आन्त्रा भुँडीसमेत यथेष्ठ षान पाउँदा ¥हीष्टपुष्टांग भयाका छन् ।’ मोदीआइनमा महाभारत युद्ध नभइदेओस् भनेर प्रार्थना गरेर बसेका महिलाहरूको कथा छ, जो भगवान् कृष्णको युद्ध गराएरै छाड्ने प्रवृत्तिबाट रुष्ट छन् । पृथ्वीनारायण शाह मर्दा नौ जना श्रीमती सती गएका थिए । उनकी कान्छी श्रीमतीको उमेर निकै कम हुँदो हो । यी सतीहरू मर्दाको स्थिति कहिल्यै सजिलो हुँदैनथ्यो । भक्तपुरका युवराज अच्युत सिंह मर्दा विष्णुमतीमा उनकी रानी सती गएको हेरेपछि गरूडनारायण गोङ्गल बेहोस भएका थिए । त्यसपछि रणजित मल्लले माया गर्दै भनेका थिए, ‘हेर ग‘ड, तँ यति कमजोर रोगी रहेछस्, कसरी मसँग काशी जालास् ? घरै फर्की ।’ त्यो बेलाको नेपालमा बाँच्न यसैले मुटु बलियो भएको हुनुपर्थ्यो ।
पृथ्वीनारायण शाहको काठमाडौं विजयपछि गोर्खामा युद्धको महिमा चर्को भएको हुनुपर्छ । नामहरूले कतिपय बेला त्यो युगको कथा बोलेका हुन्छन् । नामहरू हेर्दा कहिलेकाहीँ मानिसको परिवारको शिक्षाको स्तर पनि अड्कल गर्न सकिन्छ । जस्तो कसैका हजुरबुबाको नाम तपाईंले सोध्दा उसले कञ्चन भन्यो भने, रूपक भन्यो भने ती त्यो बेलाका तुलनात्मक रूपमा शिक्षित व्यक्तिका सन्तान रहेछन् भनेर अड्कल गर्न सकिन्छ । जेठो जन्मे कृष्ण, माहिलो जन्मे राम, साइँलो छोरो जन्मे हरि राख्ने व्यक्तिहरूले या नाम खोज्न धेरै मिहिनेत गरेका नहोलान् या अद्वितीय या आधुनिक नाम राख्ने शिक्षा नभएकाले त्यस्तो भएको हुँदो हो । आफ्ना छोराछोरीको नाम अरु कसैले नराखेको सुन्दर नाम राख्ने हुटहुटी थोरै व्यक्तिमा हुन्छ । झन् थोरै व्यक्तिले त्यसो गर्न सक्छन् । अर्कोतिर गाउँमा सबैभन्दा पीडित मानिसका छोराछोरीको नाम गोल्छे, पुड्के, दले, सन्ते, डल्ली भएको हुन सक्छ । पण्डितले पनि थोरै दक्षिणा बोकेर मन नलागीनलागी राखिदिएका नामहरू कहिलेकाहीँ सुन्दैमा चिन्न सकिन्छ ।
नेपाल देश बनेपछि पनि लामो समयसम्म साहित्य फस्टाउन पाएको थिएन । राजाहरू प्रताप सिंह, रणबहादुर, गीर्वाणयुद्ध कोही पनि ४० वर्ष पनि बाँचेनन् । अर्कोतिर भक्तपुरका अन्तिम चार राजाहरू रणजित मल्ल (४८ वर्ष), भूपतीन्द्र मल्ल (२६ वर्ष), जितामित्र मल्ल (२३ वर्ष) र जगतप्रकाश मल्ल (२९ वर्ष)ले औसत ३१ वर्ष शासन गरेका थिए । ती कलामा पारङ्गत भएर निस्किए । कतिले आफ्नै नाममा किताब लेखे । आज पनि दरबार क्षेत्र हेर्ने हो भने नेपालका पहिलाका राजाहरू कसैको पनि दरबार क्षेत्र सुन्दरता र भव्यतामा भक्तपुरकोसँग तुलनायोग्य छैन । गोर्खाले भक्तपुर विसं १८२६ मा सर गर्दा रणजित मल्ल ७४ वर्षका थिए, त्यतिको पाको र धीर राजा शाहवंशले कहिल्यै दिन सकेन । धेरै कुरामा यसको असर देखियो । साहित्यलाई आडभरोसा दिनुपर्ने, विद्यालय खोल्नुपर्ने जस्ता विषयमा हाम्रा शासकको ध्यान जानै सकेन । ती न साहित्यका उत्पादक भए, न खरिदकर्ता ।
लाग्छ, लडाइँका बेला बरू साहित्यभन्दा युद्धप्रेम र उन्माद बढी थियो । त्यस बेलाको नाम हेरौं— रणबहादुर शाह त छँदै थिए, उनका छोरा रणोद्योत शाह र अर्को राजा भएका छोरा गीर्वाणयुद्धविक्रम शाहको नाम पनि युद्धसँग सम्बन्धित थियो । अमरसिंह थापाका छोराहरूको नाम रणवीरसिंह, रणसुर सिंह, रणध्वज सिंह, रणभीम सिंह, रणजोर सिंह आदि थियो । तुलाराम पाँडेका छोराहरूको नाम रणजित र जगजित पाँडे राखे । अनि नातिहरूका नाम पनि जङ्गवीर, वीरभञ्जन, सिंह वीर, शमशेरबहादुर थियो । दामोदर पाँडेका छोराहरूको नाम रणजङ्ग, रणदल, रणकेशर, रणबम आदि थियो । रामकृष्ण कुँवरका छोरा रणजित कुँवर थिए । जसवन्त भण्डारीका खलकमा पनि रणसुर भण्डारी, रणदेव भण्डारी थियो । शिवराम बस्न्यातका खलकमा झन् नहुने कुरै भएन । यिनका नातिहरूको नाम रणवीर सिंह, रणदीप सिंह, रणधीर सिंह थियो । भीमसेन थापाका भाइ नयनसिंह थापाका छोरा माथवरसिंह र नाति रणउज्वल थापा थियो । जङ्गबहादुरभन्दा अघिका प्रधानमन्त्री पनि राजखलकका चौतरिया फत्तेजङ्ग शाह थिए । यी नामले त्यो युगको जेटगेस्ट बुझ्न हामीलाई सहयोग गर्छ । साहित्य त्यस बेला सम्भवतः टाढाको कुरो थियो । नयाँ गोर्खाली विजेताहरू सामूहिक रूपमै नयाँ नाम खोज्ने र अद्वितीय नाम राख्ने हुटहुटी भएका शिक्षित व्यक्ति थिएनन् ।
पोखराका धर्मराज थापाले लोकगीतहरू सङ्कलनका साथै मेरो गृहजिल्ला चितवन पुगेर त्यहाँको बारेमा चितवन दर्पण भन्ने पुस्तक नै लेख्नुभएको छ, जहाँ भर्खर बस्ती बसाइएको चितवनका निकै कथा छन् । त्यो गुन केही भए पनि तिर्न मैले कास्कीका केही कथा कास्केली वृद्धहरूसँग सुन्ने कोसिस गरेको थिएँ । तीमध्ये यहाँ एकदुई राख्न चाहन्छु । तिनले एक सय वर्षअघिको, डेढ सय वर्षअघिको कास्कीको परिवेश कस्तो हुँदो हो भन्ने कुराको उत्तरमा मलाई भनेका थिए–
धेरै दुःख थियो । … त्यसबेला मान्छेहरू ५५र६० वर्षमा मर्थे । ६० वर्षमा मर्दा त ओहो उमेर भएर गएछन् भन्ने हुन्थ्यो । लेकमा भन्दा तल बेसीमा बस्ने मान्छे चाँडै मर्थे । किरिया बस्नेहरू सानासाना बालख हुन्थे ।… रोग सबैतिर थियो । भुर्जुङ्खोलाका सुब्बाबाहेक सबै गाँडा थिए । घाचोक, काउँमान, लाचोकमा धेरै गाँडा र बोली बिग्रेका थिएस भिजुकीमा गाँडा थिएनन् । तोल्कामा थिए । सिसुवा, खुदीतिर विधवा बढी थिए । एक जना दिदीलाई सिसुवातिर बिहे गरेर नदिनू भन्दाभन्दै दिइयो, बिहे गरेको २७ दिनमा विधवा भइन् । पोखरामा नै औल लाग्छ भनेर मानिस बास बस्दैनथे । धिताल बाँस्कोटमा भने लाटा जम्मा दुई जना थिए ।
मलाई लाग्छ, कास्कीकी गीतकार तथा गायिका हरिदेवी कोइरालाका कलामा अन्याय, लाहुरेका पीडा र नारीका दुःख प्रतिबिम्बित हुनु कुनै संयोग होइन । यो स्थिति कास्कीको मात्र होइन, यो त्यो युगको देशभरिको स्थिति थियो । चाँडैचाँडै मान्छे मर्ने त्यो जुगमा आफ्ना साना छोराछोरीको भविष्यको चिन्ताले मानिसलाई सताउँथ्यो ।
नेपाली साहित्यमा त्यसरी छटपटाएका आमाहरूको दुःख शब्द बनेर पोखिएका विभिन्न उदाहरण पाइन्छन् । शङ्कर लामिछानेले देउताको काममा आमाबारे लेखेका छन् ।
… (उनी) क्षयरोगबाट पीडित पतिपरित्यक्ता एक मास्टरनी थिइन्, एक मिडल स्कुलमा । पढाएर आउने पैसाबाट आफू र छोराको खाना, कपडा, पथ्य, उपचार र भवितव्यबाट जोगाइराखेको त्यो छल सम्पत्ति एकैपटक स्वाहा हुँदा.. आफ्नो मृत्युको निमन्त्रणा प्रत्येक खकारमा आइरहेका बेला पाँच वर्षको छोरो यो भवसागर कसरी पार गर्ला भन्ने विचारबाट उनको मुटु चिमोटीचिमोटी खाइरहेको हुँदो हो ।
धनुषचन्द्र गोतामेको घामका पाइलाहरूमा रोगले थलिएकी आमा साना सन्तानको मोहले छटपटिएकी हुन्छिन् र बिरामी हुँदा अस्पतालमा भन्छिन्– मेरो पवनको बिचल्ली गराएर म के मर्थें, सबै थान्को लाएर आफ्नो सप्कोमा बाँधेको साँचो बुहारीलाई जिम्मा लाएर, घरबार सुम्पेर मात्र म सन्तोषसित जानेछु ।
हरिवंश आचार्य पनि आफ्नो बालकाल सम्झिँदै चिना हराएको मान्छे (विसं २०६९)मा लेख्छन्
मेरी (बाउन्न वर्षकी) आमालाई हामी ससाना छोराछोरीलाई छाडेर मर्न मन थिएन होला ।… के गरेर तागत आउँछ, के गरेर बाँच्न सक्छु, जे गरेर भए पनि मेरा छोराछोरी टुहुरा नबनून् भनेर छटपटाउनुहुन्थ्यो रे आमा ।
अर्थशास्त्रीका रूपमा हेर्दा एक परिवार टुक्रिनु, उमेरका महिलापुरूषहरू मर्नु, बच्चाहरू कुनै अभिभावकीय सुपरिवेक्षणबिना हुर्कनुको दीर्घकालीन असर हाम्रो मुलुकको अर्थतन्त्रलाई कसरी प¥यो होला भन्ने प्रश्न महत्त्वपूर्ण छ । हाम्रो समाजमा इतिहासका शिक्षा लिने वातावरण नै बनेन, घरघरभित्र हुनुपर्ने संस्थागत सम्झना (इन्स्टिच्युसनल मेमोरी)को मात्रा पनि कम भयो । यसले हरेक पुस्ताले महत्त्वपूर्ण सामाजिक ज्ञान आफैं सिक्नुपर्ने अवस्था आयो । युद्धको यो असर आज सत्य हो भने पहिला पनि सत्य थियो । भीमसेन थापाको पालाको इतिहासलाई आर्थिक इतिहासकार लुडविग स्टिलरले साइलेन्ट क्राइजमा उल्लेख गरेका छन् । शासन त्यो बेला पनि जहानियाँ नै थियो, जनता करको उच्चदरले पिल्सिएका थिए । तर नेपाल राज्यका रूपमा बिस्तारै आकार लिँदै थियो । शासक र शासितबीच संवादको स्थिति भने थियो । जनता कर धेरै भयो भने सरकारसम्म आवाज पुयाउँथे । सरकार सकेसम्म मध्यम विन्दु खोज्थ्यो । सुगौली सन्धिपछि मुलुक र सेनाको स्पिरिट क्षतविक्षत पक्कै भएको थियो । एकातिर करको दर उच्च थियो, अर्कातिर विसं १८९२ मा रङ्गनाथ पौड्याल आयोगले दिएको सुझावअनुसार राज्यको अनावश्यक खर्च घटाएर मितव्ययी बन्नुपर्ने देखिएको थियो । सेनाहरूमा भने तलब कम भएको, लडाइँ नभएर काम नभएकोमा असन्तुष्टि थियो । महेशचन्द्र रेग्मीका अनुसार मान्छेहरू उच्चदरको मालपोतले धेरै पिल्सिएका थिए । कसलाई कति कर लगाउने केही निश्चित थिएन । तिरो तिरिरहेका चुनी किसानको अधिकार केही हदसम्म सुरक्षित थियो । तर बिर्ता वा जागिरमा बसेका किसानको अधिकार सुरक्षित थिएन ।
भीमसेन युगको महत्त्वपूर्ण घटनामध्ये एक बासट्ठीहरण थियो, जसमा धेरै मठन्दिर, गुम्बा, ब्राह्मणका बिर्ता हरण गरिएका थिए । रणबहादुर शाहले तिरहुते ब्राह्मणकी विधवा छोरी बिहे गरेर राज्यको उत्तराधिकारको समेत नियम फेरेको धेरै उच्च जातका जनतालाई चित्त बुझेको थिएन । उनलाई चाहिँ ब्राह्मणले आफ्ना कुरा मानेनन् भन्ने थियो । त्यसैको झोक उनले विसं १८६२ मा बासट्ठीहरणमार्फत फेरेका थिए । त्यसको असर दूरगामी भएको थियो । संयोग कस्तो भयो भने, पहिले वेगगतिमा पश्चिममा विजय हासिल गरिरहेका अमर सिंह थापा काश्मीरसम्म हान्ने सुरमा हिँडेका थिए । तर १८६३ सालदेखि भने उनी काँगडाको किल्लामा तीन वर्षसम्म त्यसै त्रिगर्त नरेश संसारचन्दलाई हराउन नसकी अड्किएर बसे । यिनले स्वाभाविक रूपले यसमा बासट्ठीहरणले गर्दा भएको पापको भूमिका देखे । लेखिका इन्दिरा जोशीले लेखेको अमरसिंह थापाको जीवनीमा प्रकाशित थापाले राजालाई लेखेको एक पत्रको व्यहोरा यस्तो छ-
हजुरले ब्राह्मणहरूका बिर्ता हरण ग¥याका बेलादेखि हजारौं ब्राह्मणहरू साह्रै फजिती पाई कङ्गाल भयाका छन् । काँगडा फत्य भएपछि ती बिर्ता फर्काइनेछन् भन्न्या कबुल गरी हजुरले मेरा र नैनसिंह थापाका नाममा लालमोहर लाग्याको हुकुम पठाइबक्स्याको थियो । त्यो काम हामीले पु¥याउन नसक्दा अहिले चारैतर्फ गोलमाल उठ्याको छ ।
त्यस बेला खुम्बु क्षेत्रमा बासट्ठीहरणको विरोधमा विद्रोह भयो, मानिसहरू मारिए । ती विद्रोहका कथा भने साहित्यले उतारेन । त्यस बेला लेखिएका नेपाली पुस्तकहरूमा करले पिल्सिएका, दुःख पाएकाहरूको कथा आउँदैन । रणबहादुरको अस्थिर शासनबाहेक अन्य बेला भने हाम्रो शासन महाभारतका नीति र उपदेशलाई मानेर चल्न खोज्थ्यो । महाभारतमा शान्तिपर्वमा भीष्मले युधिष्ठिरलाई भनेका थिए, ‘राज्यको ढुकुटी भरिराख्नुपर्छ । भरेपछि यसलाई नचाहिने खर्च रोकेर, मितव्ययी हुँदै, राम्रोसँग जतन गरेर बचाउनुपर्छ र सधैं बढाउने कोसिस गर्नुपर्छ । यो शासकले नित्य गर्नुपर्ने काम हो । राजस्व उठाउन नसक्ने राजालाई सबैले हेप्छन् (हीनकककशं हि राजानं अवजानन्ति मानवाः) । तर ‘न कोशः शुद्धशौचेन न नृशंसेन जायते, पदं मध्यम आस्थाय कोशसङ्ग्रहणं चरेत्’ अर्थात् धेरै उदार भएर पनि राजस्व सङ्कलन गर्न सकिँदैन, धेरै नृशंस भएर पनि हुँदैन, ठिक्क हुनुपर्छ ।’
जङ्गबहादुरलाई १८६२ को बासट्ठीहरणले धेरै परि पारेको थियो । उनले हरणजग्गा फिर्ता दिने नियम पनि ल्याएका थिए । जङ्गबहादुरले शासनमा आउनेबित्तिकै तराईका कैयौं जग्गालाई जथाभावी बिर्ताका रूपमा दिन नपाइने थिति बाँधेका थिए । त्यसअघि राज्य कमजोर थियो, ऊ कैयौं ठाउँमा त आफैं कर उठाउन नसकेर पाँच साल ठेकी (पाँच सालका लागि कुनै क्षेत्रमा कर उठाउने ठेक्का) लगाउँथ्यो । त्यस्ता ठेक्का खानीमा पनि थियो । जङ्गवबादुर सत्तामा आउँदा राज्यकोष खासै बलियो पनि थिएन । राज्यको पूर्ण सैनिकीकरण पनि भएको थियो । सन १८५२र५३ को एक रेकर्डअनुसार सरकारका नाममा भएको ३८ लाख ११ हजार ८३० मुरी खेतमध्ये ३१ लाख ७८ हजार ११० मुरी सेनालाई र बाँकी अधिकांश राजदरबार र राणा परिवारलाई जान्थ्यो । यो अवस्थामा कला, साहित्यको संरक्षण र प्रवर्द्धन कल्पनाबाहिरको विषय थियो ।
सरकारका तमसुक, सरकारले लेखेका चिठी र सरकारमा गरिएका हारगुहारका निवेदन पढेर अर्थशास्त्रीहरूले त्यस बेलाको उच्च कर र साधारण राज्यव्यवस्थाका असरबारे प्रकाश परेका छन् । महेशचन्द्र रेग्मीका अनुसार विसं १८९० मा भीमसेन थापाको शासनको अन्त्यतिर सल्यानमा कर उठाउने धोक्रेहरूले समय नदिई कडाइ गरी पैसा उठाउन खोज्दा धेरै किसान जमिन छाडेर भागेका थिए । योगी नरहरिनाथको एक खोजअनुसार त्यसको १३ वर्षपछि जुम्लामा विसं १९०३ वैशाखमा ज्युना चँदारालाई रू. २० मा कमारी बनाएर खरिद गरिएको थियो, जुन त्यस बेला साढे १० मुरी चामलको मूल्य थियो । बाउले लिएको छ रूपैयाँ २० वर्षसम्म नतिरेकाले जङ्गबहादुरको पालमा विसं १८२२ मा डोटीमा एक महिलालाई बलात् कमारी बनाइएको थियो । यी कथा हाम्रो त्यो बेलाको साहित्यले भने छुटाएको छ ।
विसं १९२० देखि १९२४ सम्म तराई र त्योसँग जोडिएका भारतका जिल्लामा गएको भोकमरीको असर त झन् भयावह थियो । धेरै बाबुआमाले आफ्नै छोराछोरी बेचेका थिए । यसरी बेचिएका केही दास पछि जङ्गबहादुरको पहलमा फिर्ता पनि गरिएको थियो । र स्वतन्त्र मानिसका सन्तानलाई कमाराकमारी बनाउन नपाइने नियम पनि सुरू गरिएको थियो । तर ती दिन भयावह थिए, मानिसको सम्पत्तिको संरक्षण र मानिसको भविष्यप्रतिको आशावादिताका दृष्टिले पनि ।
राजामहाराजालाई समेत आफ्ना सन्तानको भविष्य कस्तो हुन्छ भन्नेमा सुनिश्चितता थिएन । माथवरसिंह आफूलाई गोली लागेपछि आफ्नी आमा र सन्तानलाई केही नगरिओस् भनेर भिक्षा माग्दै राजाको अगाडि रोएका थिए, जङ्गबहादुरका सन्तान या मारिएका थिए या देशनिकालामा परेका थिए । राजाकै सन्तानको समेत भर थिएन । देशनिकालामा परेका चौतरिया र सानामै आँखा फुटाइएका राजकुमारहरू यत्रतत्र थिए । राजा पृथ्वीनारायण शाहकै आफ्नै छोरा बहादुर शाह तातो तेलमा डुबाएर मारिएका थिए, नाति रणबहादुरको हत्या भएको थियो, पनाति विदुर शाहीहरू सानैमा विष्णुमतीमा लगेर काटिएका थिए । हामीले बनाएको पद्धतिको सुरूवाती बेला कोही सुखी थिएन, कोही ढुक्क थिएन । यी कथा त्यो बेलाको हाम्रो साहित्यले छुटाएको छ ।
१८०१ को नुवाकोट विजयलाई एकीकरणको युद्धको आधारवर्ष मान्ने हो भने सुगौली सन्धिको वर्ष अर्थात् विसं १८७३ सम्म ७२ वर्षसम्म गोर्खाली सेनाले निरन्तर लडेको थियो । १८७३ देखि भने शान्ति छाएको थियो । तत्कालीन रेजिडेन्ट ब्रायन हडसनका अनुसार नेपालको बाह्य व्यापार युद्धपछि निकै राम्रो भएको थियो । १० वर्षमा तीन गुणा बढेको थियो । त्यो शान्तिकालको साहित्य भने अझै जनताको तहमा उत्रिको थिएन । नेपाली भाषामा लेखिएका किताब त्यो बेलासम्म रामायण, महाभारत, स्वस्थानी, ऐतिहासिक चरित्रमा आधारित तिलस्मी खालकै थिए । भानुदत्तको हितोपदेश मित्रलाभ (विसं १८३३), शक्तिबल्लभ अज्र्यालको हास्यकदम्ब (विसं १८५५), गौरेश्वर शर्माको बेताल पञ्चविंशती (विसं १८६६) विष्णुपद पाध्याको लालहीराको कथा (विसं १८८९) यसका केही उदाहरण हुन् । विसं १८७८ मा नेपालीमा अनूदित स्वस्थानी व्रतकथा भने अत्यन्त लोकप्रिय हुन पुग्यो । पृथ्वीनारायण शाहको उपदेश भनिएको दिव्योपदेशको रचना सम्भवतः भने १८३१ मा नभई निकै पछि भएको हुँदो हो । दिव्योपदेशमा अर्थशास्त्रसँग सम्बन्धी विभिन्न कुरा पनि छन् ।
नेपालमा विसं १९०८ मा गिद्धे प्रेस, त्यसको केही वर्षपछि मनोरन्जन छापाखाना सुरू भए । विसं १९५० मा मोतीराम भट्ट र पण्डित कृष्णदेवको सयुंक्त स्वामित्वको निजी क्षेत्रको पहिलो पाशुपत प्रेस ठहिटीमा खुल्यो । सुरूका सरकारी प्रेसले प्रकाशन क्षेत्रमा कुनै ठूला क्रान्ति ल्याउन सकेनन् । पाशुपत प्रेसको भने विभिन्न तरिकाले नेपालमा प्रभाव भयो । पहिलो पत्रिका सुधासागर पनि यही प्रेसबाट विसं १९५५ साउनमा निस्कियो । विसं १९६० तिर सरकारी गोरखापत्र प्रेसको स्वामित्व केही समयलाई पाएका जयपृथ्वीबहादुर सिंहले सम्भवतः हाम्रो साहित्यको स्तर माथि लैजाने प्रयास गरेका हुँदा हुन् । तर धेरै सफल भने भएनन् । नेपाली साहित्यमा विविधता ल्याउन नेपाली भाषा प्रकाशिनी समिति नै चाहियो, जसमा बस्दाका अनुभवहरू बालकृष्ण समले आफ्नो जीवनी मेरो कविताको आराधानमा उल्लेख गरेका छन् ।
बढ्दै गएको शिक्षा र लामो समयको शान्तिले विस्तारै भने पनि धनी हुँदै निस्कँदै गरेको एक मध्यमवर्गीय तप्काले साहित्यको सुरूको विकासलाई निर्देशित ग¥यो । र राणाशासनमा आएर केही यथार्थवादी लेखाइका राम्रा नमुना निस्कन थाले । पहलमान सिंह स्वाँरको एकलाख रुपैयाँको चोरी (१९७४), पुष्करशमशेरको कथा परिबन्द आदी यसका उदाहरण हुन् (पुष्करशमशेरको अर्को कथा स्वार्थत्याग पनि न्याय निरूपण गर्ने राणाकालीन शैली र त्यससँग व्यक्तिगत यौन वुभुक्षाको सम्बन्धबारे केन्द्रित छ) । राणाकालीन न्याय निरूपणको अर्को राम्रो उदाहरण हेनरी ओलफिल्डको तत्कालीन राणाकालीन नेपालमा शिरच्छेदन गरेर मृत्युदण्ड दिदाँको वर्णन र प्रकाश वस्ती सम्पादित कानुनसम्बन्धी केही ऐतिहासिक अभिलेखहरूमा उल्लिखित १९३८ सालको पर्वपछिको मृत्युदण्ड पाएका व्यक्तिहरूको काटिन लैजाँदाको मनोदशा तथा संवादले पनि दिन्छन् । विसं १९७४ तिर योगमायाले लेखेका भनिएका भावनाहरू पछि प्रकाशित भए, जसमा योगमाया वर्गीय विभेद तथा शोषणविरूद्ध प्रखर वक्ताका रूपमा देखापर्छिन् । अरु विद्रोही आवाजहरू तत्कालीन युग सुहाउँदो रूपमा प्रकाशित भए । सुब्बा कृष्णलाल अधिकारीले विसं १९७७ मा विम्बहरू प्रयोग गरेर लेखेको भनिएको मकैको खेती यसको एक उदाहरण हो ।
अर्थशास्त्रीहरूको मतमा कानुनी व्यवस्था कमजोर हुँदा, गुणदोष छुट्टिन समय लाग्दा वा गलत रूपमा छुट्टिँदा अर्थतन्त्र स्वभावैले कमजोर हुन्छ । र लगानीमा व्यक्तिहरूको मन जाँदैन । जङ्गबहादुरले जग्गामा खेती गरेर तिरो तिरिरहेका व्यक्तिको जग्गा अरुलाई मोही लगाउन नपाउने व्यवस्था ल्याएसँगै नेपालमा जग्गामाथि सम्पत्तिको हक स्थापित हुन थाल्यो भने चन्द्रशमशेरले विसं १९७९ वैशाख २ बाट जग्गा दर्ता प्रक्रिया व्यवस्थित बनाएर मालपोत अफिसहरू खुलेसँगै यो झन बलियो हुन थाल्यो । उद्योगमा लगानीका धेरैजसो कुराहरू जुद्धशमशेरको पालामा व्यवस्थित गर्न सुरू गरिए । सरकारी पहलमा बजारहरू (अर्थात् गोलाहरू) खोल्ने काम अलि पुरानै भए पनि सीमावर्ती क्षेत्रका महत्त्वपूर्ण सहर विराटनगर, नेपालगन्ज, वीरगन्ज खोल्ने, भित्री पहाडका धरानलाई सहरको रूप दिने काम वीरशमशेर र चन्द्रशमशेरको पालामा सीमामा भारतीय रेलको आगमनसँगै भए । भर्खरै बसेको सहर वीरगन्जमा रेल आउँदाको कथा सजीव रूपमा साहित्यमा उतार्ने काम चाहिँ धनुषचन्द्र गोतामेको विसं २०३५ मा घामका पाइलाहरूमार्फत भयो । अरु सहरका सुरूवाती दिनका कथा नकोरिएकाले ती विस्मृतिको गर्भमा रहे ।
नेपालमा चाहे जस्ता उपभोगका, आयका, बसाइँसराइका तथ्याङ्कहरू २००७ सालको क्रान्तिपछि पनि उत्पन्न भएनन् । २००८ सालमा हामीले मोहीको लागत लिने भनेर सर्भे सुरू गरेका थियौं, सेन्सस पनि २०११ देखि गरेका छौं । तर यी विस्तृत नभएको र हाम्रो तथ्याङ्कशास्त्रसम्बन्धी ज्ञान पनि सीमित भएकाले हाम्रा रेकर्डहरू २००७ सालपछि….