
बासँस्थान खल्बलिएपछि वन्यजन्तु पछिल्लोसमय जंगलबाट खुलमखुला बाहिर हिड्न थालेका छन् । जसले गर्दा वन्युजन्तुमाथी अवैधरुपमा शिकार गर्नेको संख्या बढ्दै गएका छ । वन्युजन्तु असुरक्षित हुन थालेका छन् । यसो त, मानव बस्तीमा जंगली जनावरको क्रास पनि उत्तिकै बढ्दै गएको छ । विशेषगरी चितुवाका कारण गण्डकी प्रदेशमा कर्यौ बालबालिकाले ज्यान गुमाएका छन् ।
दिनहुँ शिकार गर्दा वन्यजन्तुको संख्या मासिदै जान थालेपछि पोखरामा वन्यजन्तु उद्दारको लागि वाइल्डलाइफ एम्बुलेन्स संचालनमा ल्याइएको छ । गण्डकी सरकारले पहिलोपटक वाइल्डलाइफ एम्बुलेन्सलाई संचालनमा ल्याएको उद्योग, पर्यटज वन तथा वातावरण मन्त्रालयका सचिव महेश्वर ढकालले जानकारी दिए । ‘तनहुँ, कास्की र स्याङ्जामा चितुवाको समस्या विकराल छ’ उनले भने, ‘मानव र वन्यजन्तुको द्धन्द्ध बढीरहेको छ । मानव र वन्यजन्तु दुवैलाई बचाउनको लागि यो एम्बुलेन्स संचालनमा ल्याएका छौ ।’
वाइल्ड लाइफ एम्बुलेन्स खरिदका लागि मन्त्रालयले झण्डै ४१ लाख रुपैया विनियोजन गरेको जनाएको छ । प्रदेशका कुनैपनि स्थानमा आवश्यकता र भवितव्यमा प्रयोग गर्न सकिने उक्त एम्बुलेन्समा सुरक्षित ट्रलिसमेत जडान गरिएको छ । वन्यजन्तुसंग मिल्दोजुल्दो चित्र टाँसेर सजाइएको छ । सचिव ढकालका अनुसार एम्बुलेन्स संचालन गरिएपनि प्राविधिकको जनशक्ति आवश्यक छ । ‘प्राविधिक नभएसम्म कसरी उपचार गर्ने ?’ उनले भने, ‘घाइते जनावरलाई समय–समयमा मिलाएर औषधी सेवन गराउन अन्यले जानिदैन, सकिदैन पनि । यसको लागि हामी छिट्टै नै प्राविधिकको व्यवस्था गर्नेछौ ।’ घाइते जंगली जनावरको उद्दार गर्ने, उपचार गर्न र झुक्किएर वा भागेर मानव वस्तीमा आइपुगेमा उद्दार गर्नको वाइल्डलाइफ एम्वुलेन्स प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ । सो एम्वुलेन्सले जंगली जनावरको छिटो र सुरक्षित उद्दार गर्न मद्दत पुग्ने ढकालले बताए । उनका अनुसार कुनै पनि ठाउँमा जंगली जनावर घईते अवस्थामा फेला परे तथा भागेर मानव वस्तीमा आएमा त्यसलाई लगेर पँचभैयामा रहेको मिनीजुमा राखिनेछ ।
घाईते अवस्थाको वन्यजन्तुलाई उपचार गरिनेछ । उपचारपछि निको भएका वन्यजन्तुलाई पुन जंगलमा नै लगेर छाडिने उनले बताए । यो एम्बुलेन्सले वन्यजन्तु संरक्षण र मानवको जिवनरक्षामा पनि सहयोग पुग्ने उनले बताएका छन् । ‘पछिल्लो समय मासिदै गएका वन्यजन्तुको संरक्षण गर्न आवश्यक छ’ उनले भने, ‘कतिपय वन्यजन्तु त उपचार नपाएर नै मरेका छन् । चाहेर पनि उद्दार गर्न सकेका थिएनौ । अव भने वन्यजन्तुको संरक्षणसंगै संख्यामा पनि बृद्धि हुनेछ ।’ मानव र जंगली जनावरको आक्रमणले पनि मानिस र वन्यजन्तु दुवैलाई क्षति पुगेको उनले बताए ।