
स्कुलमा भर्ना हुने तर, पढ्नको लागि कहिलै स्कुल नआउने विद्यार्थी हिजोआज दैनिक विद्यालय आउन थालेका छन् । बाबुआमा, शिक्षक–शिक्षिकाले विद्यालय ल्याउन नसकेका विद्यार्थी अहिले धमाधम विद्यालय आउन थालेका हुन् । उनीहरु विद्यालय आउनुको एउटै कारण हो, दिवा खाजा । विद्यालयले निशुल्करुपमा दिवा खाजा खुवाउन थालेपछि विद्यार्थी विद्यालय आउने क्रम बढेको हो ।
यहाँको रुपा गाउँपालिका–६ भीरचोकमा रहेको चन्द्रप्रभा माध्यामिक विद्यालयमा डेढ महिनादेखी निःशुल्क खाजाको व्यवस्था गरिएको विद्यालयका प्रध्यानाध्यापक भोलानाथ पौडेलले जानकारी दिए । ‘कक्षा ५ मा पढ्ने हाम्रो विद्यार्थी नियमित स्कुल आउथ्यो’ उनले भने, ‘उसको भाई कक्षा ३ मा पढ्छ । भर्ना भयो तर, स्कुल आउन नमान्ने । पढ्नुपर्छ भनेर धेरै फकायौ कहिलै मानेन । स्कूलमा दिवा खाजाको व्यवस्था भएको कुरा दाईले घरमा गएर भाइलाई भन्यो र स्कुल ल्यायो । अहिले भाई पनि दिनदिनै पढ्न स्कुल आउँछ ।’ उनले यी दाजु भाईको उदाहरण दिए । उनी जस्ता यहा“ अध्ययनरत २० जना विद्यार्थी खाजाको व्यवस्था भएपछि पढ्न दिनदिनै विद्यालय आउने गरेका छन् ।
चन्द्रप्रभामा अहिले दुईसय १५ जना विद्यार्थी अध्ययनरत छन् । यहाँ कक्षा १२ सम्म अध्यापन हुन्छ । अंग्रेजी विषयका शिक्षक चुमानसिंह गुरुङ दिवा खाजाले विद्यार्थीलाई आकर्षित गरेको बताउछन् । सरकारले सवै सरकारी विद्यालयमा दिवा खाजाको व्यवस्था गर्ने अभियान ल्याएको छ । सो अनुसार यस विद्यालयमा पनि खाजाको व्यवस्था गरिएको शिक्षक गुरुङले बताए । खाजा शिशु कक्षादेखी ५ सम्म अध्ययनरत विद्यार्थीले पाउने विद्यालयले जनाएको छ । विद्यालयका अनुसार ५ कक्षासम्म ८५ जना विद्यार्थी छन् । सरकारले प्रतिविद्यार्थी १५ रुपैयाको दरले खाजाको ्व्यवस्था गरेको छ । शिक्षक गुरुङ भन्छन, ‘खाजा कहिले १०, कहिले १२ र कहिले २० रुपैयाको पर्न जान्छ । तर, सरकारले १५ रुपैयाको दरले व्यवस्था गरेको छ । तोकिएको मु्ल्य अनुसार हुदैन ।’ उनले दिनदिनै खाजा फरक–फरक खाने भएकाले मुल्य केही रुपैया तलमाथी हुने बताए । अनुपस्थिति हुने विद्यार्थीको संख्यामा कमी आएको बताउदै उनले भने, ‘सानो बच्चालाई १५ रुपैयाको खाजा पनि धेरै महत्व हुन्छ । शहरको लागि पो पैसा थोरै हुन्छ । गरिव परिवारका बच्चालाई गाउ“मा निशुल्क खाजा नै ठूलो राहात हो ।’
विद्यालयले अहिले अभिभावकत्व ग्रहण गरेको छ । अर्का अंग्रेजी शिक्षक गिरीधारी सुवेदीले खाजा बालबालिकाको लागि महत्वपूर्ण रहेको बताए । टुहुरा, गरिब र जेहेनदार विद्यार्थीलाई सहयोग पुगेको बताउदै उनले घरमा बालबच्चा हेरचाह गर्ने व्यक्ति नभएका विद्यार्थीलाई विद्यालयमै सुरक्षित हुने बताए । दैनिक खाजा खाने अवस्था नभएका बालबालिका र खाना खाने हैसियत भएका बालबालिकाबीचको सम्बनध पनि एकैनास हुने सुवेदीको भनाई छ । कक्षा दुईमा अध्ययनरत अश्रव मियाले भुटेको मकै खाजा खाएको बताए । उनले विद्यालयमा नै दैनिक खाजा खान पाइने भएपछि घरबाट खाजा ल्याउन छाडेको बताए । ‘पहिला घरबाटै खाजा बोक्नुपथ्र्यो’ उनले भने, ‘अहिले घरबाट खाजा ल्याउन छाडे । सरले नै स्कुलमा खाजा खुवाउनुहुन्छ ।’ उनले खाजा स्कुलमा नै पाइने भएपछि बाबुआमासंग पैसा माग्न नपरेको बताए ।
प्रअ पौडेलका अनुसार विद्यालयमा जंगफुड नखुवाउन पहिलेबाट नै पहल गरेपनि अभियान सफल भएको थिएन । विद्यालयले नै दिवा खाजाको व्यवस्था गरेपछि जंगफुडलाई निरुत्साहित गरिएको उनले बताए । विद्यालयले दुई महिनादेखी क्यान्टीन सञ्चालनमा ल्याएको छ । न्युनतम दररेटमा ताजा र मिठो खाजाको व्यवस्था गर्न क्यान्टीन सञ्चालन गरिएको उनले बताए । उनका अनुसार खाजामा जाउलो, तरकारी, मकै, भटमास, ताल, चिउरा, अण्डाको व्यवस्था गरिएको छ । हिन्दु र मुस्लिम समुदायका विद्यार्थी भएकाले मासु खुवाउने कार्यक्रम बन्द गरिएको उनको भनाई छ । ‘खाजामा के के खुवाउन सकिन्छ भनेर हामलिाई सर्कुलर आएको छ’ उनले भने । अहिले विद्यालयमा विद्यार्थीको संख्या २ सय ३५ पुगेको छ ।