

प्रतिपत्र सवाददाता (स्याङ्जा)
फालिएको फोहोर विक्री गरेर स्याङ्जाको भीरकोट नगरपालिकाले १७ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ । फोहोरलाई व्यवस्थीत गर्ने उदेश्यले २८ रोपनी क्षेत्रफलमा फोहोर संकलन केन्द्र संचालनमा ल्याएको हो । संकलन केन्द्र स्थापना गरेसंगै घर–घरबाट फालिएको फोहोर कुहिने र नकुहिने गरी संकलन गरेको छ । कुहिने, नकुहिने र सिसाजन्य फोहोर गरी तीन ठाँउमा संकलन गर्ने गरेको नगरप्रमुख छायाराम खनालले बताए । नगरप्रमुख निर्वाचित भएसंगै उनले फोहोर संकलन केन्द्रको अवधारण सार्वजानिक गरेका थिए ।
भीरकोटको वडा नम्बर ४ स्थित गैह्राथोकमा स्थानीयको जग्गा किनेर फोहोर संकलन केन्द्र निर्माण गरिएको नगरप्रमुख खनालले जनाए । उनका अनुसार ८ रोपनी जग्गालाई १ लाख ८४ हजार र २० रोपनी जग्गालाई २ लाख १३ हजारको दरले खरिद गरिएको हो । आँधीखोलाको किनारमा गुठी र सार्वजानिक गरि एकसय रोपनी जग्गा रहेको नगरपालिकाले जनाएको छ । फोहोर संकलन केन्द्रमा अहिले दुईवटा मेसिन संचालनमा छन् । ‘अझै दुईवटा मेसिन खरिदको प्रकृयामा छौ’ नगरप्रमुख खनाल भन्छन, ‘नकुहिने फोहोर छुट्टै राखेका छौ । कुहिने फोहोरलाई मेसिनबाटै चाल्ने र काट्ने काम गर्छौ । अनि एक महिना क्रेटमा हालेर राख्छौ । गन्ध नआयोस भनेर इएम नामक औषधी प्रयोग गर्छौ । एक महिनापछि पुन काटेर प्याकिङ गर्छौ र बेच्छौ ।’ करिव १८ लाख आम्दानी गरेको नगरपालिकाले करिव ३ लाखको सामान विक्री गर्नै बाँकी रहेको बताएको छ । नगरपालिकाका अनुसार यसबर्ष फोहोरबाट मात्रै २५ लाख आम्दानी हुने अनुमान छ ।
फोहोर व्यवस्थापनको लागि नगरपालिकाले एक करोड रुपैया र राष्ट्रिय योजना आयोगले विशेष अनुदानमा दुई किस्तामा ३ करोड रुपैया उपलब्ध गराएको नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार पार्कसहितको फोहोर संकलन केन्द्रको अवधारण ल्याइएको हो । २ वटा प्रशासनिक भवन, महिला र पुरुषको लागि दुईवटा शौचालय, पार्क, दुवै ठाउमा कम्पाउण्ड बन्नेछ । चिल्डेन पार्क, कृत्रिम ताल र तालको बीचमा शिवजीको मूर्ति राखी चौविसै घण्टा पानी आउने गरी फाउण्टेनको निर्माण गरिने अधिकृत रेग्मीले बताए । फोहोर संकलन केन्द्रमा ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनीलाई न्युनतम पारिश्रमिक अनुसार तलवको व्यवस्था गरिएको नगरप्रमुख खनालले बताए । ‘बाटो, घर वरिपरी फोहोर फाल्न पाइदैन’ उनले भने, ‘हामी फोहोर संकलन गर्न गाउँ गाउँ पुग्छौ । प्लाष्टिकजन्य वस्तु एकै ठाउँमा, कुहिनेलाई एकातिर र सिसाजन्यलाई छुट्टै संकलन गर्न टोल विकास समितिलाई जिम्मा लगाएका छौ । थोरै फोहोर भए नगरपालिकामा नै ल्याउन लगाउछौ । यसको लागि ढुवानी भाँडा दिन्छौ । धेरै फोहोर भए हामी गाडी पठाउछौ ।’ उनले फोहोरको मुल्यदर निर्धारण गरिएको बताए । फोहोर संकलन केन्द्रभित्र पिकनिक स्पोटसमेत बनाउने लक्ष्य नगरपालिकाको छ । स्याङ्जामा यसभन्दा पहिला वालिङ नगरपालिकाले फोहोर संकलन केन्द्र निर्माण गरि ८० लाख रुपैया आम्दानी गरेको थियो ।
