गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखी सुरु हुदै छ । गण्डकी प्रदेशसभाकै भवन नदीपुरमा दिउँसो २ बजेबाट अधिवेशन सुरु हुने प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज नै टेबुल हुनेछ । कार्य व्यवस्था परामर्श समितिको आइतबार बसेको वैठकले प्रस्तावमाथी वैठक सकिएपछि बुधबारसम्ममा मतदानबाट त्यसलाई टुंगो लगाउने तय गरेको उनले बताए । कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । वैशाख २ मा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । तीन दलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन वैशाख १ मा फिर्ता लिएपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि मुख्यमन्त्रीले वैशाख १ मा रातारात हिउँदे अधिवेशनको अन्त्य गरेका थिए । चैत २५ मा सुरु भएको अधिवेशन जम्मा ३ दिन चलेको थियो ।
