भोट क्रस हुने डरले सांसदलाई होटलमै राखियो

Share this post :

Facebook
Twitter
WhatsApp
गण्डकी प्रदेशसभाको भवनबाट बाहिरीदै सांसद । तस्बिर प्रतिपत्र ।

प्रतिपत्र संवाददाता (पोखरा)
विपक्षी दलका सांसदलाई भोट फ्लोर क्रस हुने डरले होटलमा राखिएको छ । सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव प्रदेशसभा वैठकमा टेबुल भएपछि सांसदलाई सत्ता पक्षले प्रलोभनमा पार्न सक्ने भएकाले होटलमा राखिएको हो । टाढाबाट आउने सांसदलाई आउजाउ गर्न समस्या हुने भएकाले होटलमा बस्ने व्यवस्था गरिएको माओवादी केन्द्रका सांसद दीपक कोइरालाले बताए ।
अर्थ विकास समितिको सभापति समेत रहेका कोइरालाले भने, ‘होटलमा हाम्रो मिटिङ र छलफल हो । सांसदलाई कसैले बन्धक बनाएर राखेको छैन । पोखरा घर र कोठा नहुने बाहिरी जिल्लाका सांसदलाई धपरी हुने भएकाले बस्ने व्यवस्था गरिएको हो ।’ पोखराको लेकसाइडस्थित होटल कुटीमा माओवादी र कांग्रेसका सांसद राखिएको छ । जनता समाजवादी पार्टीका सांसदलाई भने कुटी नजिकै अर्को एक होटलमा राखिएको एक सांसदले जानकारी दिए । उनका अनुसार कांग्रेस सांसद विन्दुकुमार थापाले होटल खोजेर बस्ने व्यवस्था गरेका हुन् । ती सांसद भन्छन, ‘होटलको सवै खर्च संसदीय दलले व्यहोर्ने कुरा भएको छ । संसदीय दलसंग पैसा नभए हामी आफै व्यहोर्ने त होला ।’
माओवादी केन्द्र र नेपाली कांग्रेसले आफ्ना सांसदलाई पोखरा नछाड्न निर्देशन दिएको छ । कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले एक आपसमा छलफल गर्नुपर्ने भएकाले सवैजना संगसंगै रहेको बताए । ‘छलफल गरौ, वैठक बसौ भनेपनि को कहा“ को कहा“ हुने’ उनले भने, ‘यसैले सवैजना एकै ठाउ“ रहेका हौ ।’ सोमबारदेखी सांसदलाई होटलमै राखिएको छ । उनीहरु अविश्वासको प्रस्तावमाथी मतदान हुने बेलासम्म होटलमा नै रहनेछन् । अविश्वासको प्रस्तावमाथी बुधबार मतदान हुनेछ । कांग्रेस, माओवादी र जसपाका २८ सांसदको हस्ताक्षरसंगै सरकारविरुद्ध वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभामा कांग्रेसका १५, सभामुखसहित माओवादीका १२, जनता समाजवादीका २ सांसद छन् । यी मोर्चामा मिसिएको राष्ट्रिय जनमोर्चाका ३ सांसद छन् । तर जनमोर्चाका सांसद भने होटलमा बसेका छैनन् । जनमोका कृष्ण थापाले पार्टीको केन्द्रिय निर्णय अनुसार अविश्वासको पक्षमा नै आफ्नो मतदान हुने बताए । सोमबारदेखी प्रदेशसभाको विशेष अधिवेशन सुरु गरिएको थियो । गण्डकीमा विशेष अधिवेशन यो दोस्रोपटक हो । मंगलबार बसेको वैठक सत्तारुढ दल नेकपा एमालेले सवै सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै अवरुद्ध गरेको छ । सत्तारुढ दलले संसद अवरुद्ध गरेको गण्डकीमा पहिलोपटक हो । गण्डकीमा एमालेका २७ सांसद छन् भने स्वतन्त्र १ सांसद छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका दीपक मनाङे स्वतन्त्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *