
गण्डकी प्रदेशसभाको बुधबार बसेको वैठक एकाएक स्थगित भएपछि अर्को वैठकको टुंगो लागेको छैन् । विहिबार पनि गण्डकी प्रदेशसभामा कार्य व्यवस्था परामर्शको वैठक नबोलाइएको दलहरुले बताएका छन् । कार्य व्यवस्थाको वैठक नबसेसम्म संसद नचल्ने सचिवालयले जनाएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै सचेतक पियारी थापाले जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि अनिश्चितकालका लागि वैठक स्थगित भएको थियो ।
वैशाख १३ बाट सुरु भएको प्रदेशसभा वैठक दोस्रो दिनपनि सत्तारुढ दल एमालेले सवै सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै अवरुद्ध गरेको थियो । विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरिएको थियो । टेबुल गरेपछि अविश्वासको प्रस्तावमाथी पक्ष, विपक्षमा छलफल भयो । सोही विषयमा बुधबार पनि छलफल गरिएको थियो । बुधबार अविश्वासको प्रस्तावमाथी मतदान गर्ने कार्यक्रम तय भएको थियो । छलफलमा सत्ता र विपक्षी सांसद बोलेपछि दलका नेता बोल्ने कार्यक्रम हुदै गर्दा २० मिनेको लागि सभामुख नेत्रनाथ अधिकारीले साढ ४ बस्ने गरी वैठक स्थगित गरे । वैठकमा शाही, स्वतन्त्र सांसद दीपक मनाङे, कोरोना पुष्टि भएका तीन सांसद राजीव पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङ सहभागी थिएनन् ।
संसदमा एकाएक माहोल परिवर्तन हुदै गयो । साढे ४ बजेलाई बोलाइएको वैठक पुनःसुचारु हुन सकेन । शाहीलाई सत्तापक्षले लुकाएको आरोप लगाउदै विपक्षी दलले विरोध जनाए । कांग्रेस, माओवादी र जसपाका २८ सांसदले अविश्वासको प्रस्तावमाथी हस्ताक्षर गरेका थिए । कोरोना पुष्टि भएका सांसद मतदान गर्न आउने तयारी थियो । तर, मनाङे र शाही सम्पर्कविहिन बने । दुवै जनाको मोवाइल अफ राखिएको थियो । जनमोर्चाकी सचेतक थापाले सभामुखसंगै आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पनि खोजतलासीको लागि निवेदन दिइन् । शाहीको जीवन रक्षा गर्न र अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन भन्दै थापाले निवेदन दिएकी थिइन् । सभामुख नेत्रनाथ अधिकारीले राजमोको निवदेनपछि संसद स्थगित गरिएको बताए । शाही बुधबार बेलुका कोरोना पुष्टि भएपछि चरक मेमोरियल अस्पतालमा भर्ना भएको सार्वजानिक भयो । तर, उनलाई भेट्न दिइएको थिएन् ।
अव के हुन्छ ?
कार्य व्यवस्था परामर्शको वैठक बसेपछि मात्र प्रदेशसभाको वैठक अगाडी बढ्छ । विशेष अधिवेशन भएकाले सरकारले आफूखुशी अन्त्य गर्न पाउदैन् । अधिवेशनमा विषयवस्तु टुंगो लगाएर मात्र अन्त्य गरिने कांग्रेस संसदीय दलको उपनेता मेखलाल श्रेष्ठले बताए । यदी संसदमा अविश्वासको प्रस्ताव पास हुने अवस्था आएन भने तीनवटै दलले अविश्वासको प्रस्ताव फिर्ता लिन सक्छ । यदी पास हुने भएमा अविश्वासको प्रस्ताव अगाडी बढाइने नेता श्रेष्ठले बताए । ‘अविश्वासको प्रस्ताव फेल भयो भने एक बर्षसम्म अर्को अविश्वासको प्रस्ताव लैजान पाइदैन’ उनले भने, ‘पास भए भइहाल्यो यदी पास हुने अवस्था नआए फिर्ता लिनुपर्ने हुन्छ । तर, हामी फिर्ता लिने विषयमा भने केही सोचेका छैनौ ।’ उनले अविश्वासको प्रस्ताव फिर्ता लिएपनि फेरि तत्काल दर्ता गर्न सकिने बताए । अविश्वासको प्रस्तावमाथी हस्ताक्षर गर्ने दल माओवादी केन्द्रका सांसद दीपक कोइरालाले कार्य व्यवस्थाको वैठकमा छलफल गरेपछि मात्र प्रकृया अगाडी बढ्ने बताए । उनले शाहीलाई सत्तापक्षले नियतबस लुकाएको आरोप लगाए । संसदमा शाहीको अवस्था सार्वजानिक नभएसम्म र राजमोको निर्णय सार्वजानिक नभएसम्म वैठक अगाडी नबढ्ने उनको भनाई छ । जसपाका सांसद हरिशरण आचार्यले पनि राजमोकै विषयवस्तु क्लियर हुनुपर्ने बताए । भन्छन, ‘वेपत्ता भएका सांसदको सार्वजानिक गर्न छानविन समिति बनाउनुपर्छ र यर्थाथ के हो ? बाहिर ल्याउनुपर्छ । वैचारिकरुपमा दरो मानिएको राजमोलाई अप्ठ्यारो भएको छ । यदी व्यक्ति पार्टी बाहिर गएका हुन या कारण अर्कै थियो ।’
जनमोर्चाका सांसद कृष्ण थापाले शाहीसंग टेलिफोन वार्ता गरेको बताए । ‘स्वास्थ्य ठीक छ भन्नुभएको छ फोन गरे तर, भेट्न गएको छैन’ उनले भने । उनले सभामुखले संसद स्थगित गरेको बताउदै भने, ‘मैले त हिजै (बुधबार) मतदान प्रकृया अगाडी बढाऔ भनेको थिए । सभामुखले रोकेछन् ।’ उनले अविश्वासको प्रस्तावमाथी नै मतदान गर्ने पार्टीको निर्णय परिवर्तन नभएको बताए । राजमोका प्रदेश अध्यक्ष शंकर बरालले विहान एकपटक टाढैबाट शाहीसंग केही सेकेण्ड कुरा गरेको बताए । ‘संसद स्थगित गर्न माग गरेका हौ’ उनले भने, ‘शाहीको स्वास्थ्य अवस्था हेर्छौ र पार्टीमा छलफल गरेर मात्र बा“की निर्णय गर्छौ ।’ उनले सत्तापक्षले नै पहिलै तयारी गरेर शाहीलाई लुकाएको आरोप लगाए । ‘पुलिस, प्रशासन, अस्पताल उनैको छ’ उनले भने, ‘हामी चाहेर पनि विरामीलाई भेट्न सकिरहेका छैनौ । यो विषयमा छानविन गर्न माग गर्छौ । सांसदको कुरा के हो यर्थाथ बाहिर ल्याउनेछौ ।’
एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले सभामुखले आफूखुशी संसद स्थगित गराएपछि पुनः कार्य व्यवस्था परामर्शको वैठक नबोलाएको बताए । उनले हराएका सांसदको खोज्ने जिम्मा सरकारको रहेको बताउदै संसद स्थगित गर्न नहुने बताए । ‘हामी त मतदान गर्न आतुर थियौ’ उनले भने, ‘हामीले थाहा नपाउदै संसद स्थगित गरियो ।’ शाहीलाई सत्तापक्षले लुकाएको आरोप के हो भनेर प्रश्न गर्दा अधिकारीले सरकारलाई झुटो आरोप लगाएको दावी गरे ।