
लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य भएको छ । आइतबारदेखि बोलाइएको प्रदेशसभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य भएको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरुको आह्वानमा उक्त प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो ।
अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले सोही दिन बैठक अन्त्यको आह्वान गरेका हुन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय र मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा दिउँसो १२ बजे नै विशेष अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको पत्रमा उल्लेख छ ।
अधिवेशन अन्त्यको सूचना मध्यान्ह साढे १२ मा मात्रै टाँसिएको हो । प्रदेश प्रमुखबाट मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमालेले लुम्बिनी पुनः पोखरेलकै नेतृत्वमा संविधानको धारा ६८ उपधारा १ बमोजिम बहुमतको सरकार बनाउन जुटेको छ ।
