
गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान कुलपतिमा सूर्य खड्का ‘बिखर्ची’ नियुक्त भएका छन् । वैशाख १४ मा बसेको गण्डकी प्रदेशको मन्त्री परिषद्को वैठकले विखर्चीलाई नियुक्ति दिएको हो । कुलपतिसंगै उपकुलपतिमा गोरे गुरुङ नियुक्ति भएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्माले जानकारी दिए । सामाजिक विकासमन्त्री संयोजक रहेको सिफारिस समितिमा प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष र गण्डकी विश्वविद्यालयका कुलपति सदस्य थिए ।
उक्त सिफारिस समितिले उनीहरुलाई मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ समक्ष सिफारिस गरेको थियो । गण्डकी प्रदेशमा भाषा, साहित्य, संस्कृति, कला अनुसन्धान, संरक्षण एवं संर्वद्धन गर्ने हेतुका साथ प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको थियो । प्रदेश सभाले गत बर्खे अधिवेशनमा “गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन” पारित गरेको थियो । प्रतिष्ठानमा पदाधिकारीका लागि प्रदेश सरकारले दर्खास्त आह्वान गर्दा झन्डै ६० जनाले दर्खास्त दिएको छनोट समितिका सदस्य समेत रहेका शर्माले बताए । उनका अनुसार सिफारिस समितिले २४ जनाको नाम सिफारिस गरेको थियो । तिनैमध्येबाट मुख्यमन्त्री गुरुङले कुलपति, उपकुलपति लगायत पदाधिकारी नियुक्त गरेका हुन् । वैशाख १४ मा नियुक्ति गरिएको भएपनि आइतबार सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको हो । प्रतिष्ठानको सदस्य सचिवमा मनकुमार श्रेष्ठ रहेका छन् । यसैगरी, प्राज्ञ सभा सदस्यमा सुरेन्द्र गुरुङ, कृष्णप्रसाद पौडेल, डिलकुमारी पौडेल र देवी आचार्य नियुक्त भएका छन् ।