कोरोना संक्रमितका विरामीलाई उपचार गर्न सहयोग पुयाउने हेतुले गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ६२ लाख रुपैया दिने भएको छ । आइतबार बसेको प्रदेशको डिसीसीएमसीको वैठकले आइसीयु, एडियु लगायतका सामान खरिदको लागि ६२ लाख रुपैया दिने निर्णय गरेको गण्डकीको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा रामबहादुर केसीका अनुसार अक्सिजनको पाइपलाइन जडान र संचालन गर्नको लागि उक्त रुकम दिने निर्णय भएको हो । उनले यसभन्दा अघि पटक÷पटक १० र ५० गरी ६० लाख रुपैया उपलब्ध गराइसकेको बताए । प्रदेश कोभिड १९ संकट व्यवस्थापन समितिले सामाजिक विकास मन्त्रालयमार्फत उक्त रकम उपलब्ध गराउने निर्णय भएको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा बसेको वैठकले कोभिड १९ रोकथाम र नियन्त्रण कोषको रकम दिने निर्णय भएको मन्त्रालयले बताएको छ । अस्पतालमा आइसियु र एडियु लगायत पूर्वाधार जडान गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ । अहिले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० वेडको आइसोलेसन सेन्टर छ । डा केसी भन्छन, ‘वेड छ भनिन्छ तर, उपचार गराउन आउने विरामीले ठाउ“ पाउदैनन् । विरामी फर्किएर जाने अवस्था नआयोस भनेर पाइपलाइन जडानसहितको आइसोलेसन सेन्टर बनाउन लागिएको हो ।’ सो अस्पतालमा २ सय वेड तयार गर्ने गरि काम गर्नको लागि मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार डिसीसीएमसीको वैठकले अक्सिजनका ५ हजार थान सिलिन्डर उपलब्ध गराउन संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधसमेत गरेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार १० जना जनरल फिजिसियन र १० जना एनेस्थेसिस्ट मानवस्रोत उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय भएको छ । ‘कोभिडका विरामीको संख्या दिनदिनै बढ्दै गएको छ’ डा केसीले भने, ‘विरामीले सहजै उपचार पाउने वातावरण सिर्जना गर्न पाइपलाइन सहितको आइसोलेसन वार्डको अभाव हुन नदिने गरि काम गर्न लागिएको छ ।’ उनले अस्पतालमा तत्काल वेड उपलब्ध हुन नसक्ने अवस्थामा होम आइसोलेसनलाई प्रोत्साहन दिन र होम आइसोलेसनमा रहेका संक्रमितलाई निशुल्क उपलब्ध गराउनुपर्ने आइसोलेसन किटको व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने गरि निर्णय भएको बताए । वैठकमा संक्रमितको प्रभावकारी उपचार गर्न थप प्राविधिक जनशक्ति आवश्यकता पर्ने भएमा मन्त्रालयले सोको आकलन गरी व्यवस्थापनका लागि र कम्तीमा पनि ३ महिनालाई पुग्ने आवश्यक किटका लागि लाग्ने रकम यकिन गरी व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेस गर्ने निर्णय भएको मन्त्रालयले बताएको छ ।
प्रतिष्ठानमा कोभिड १९ का संक्रमितको उपचारको लागि आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायत प्राविधिक जनशक्तिको यथाशीघ्र उपलब्ध गराउन संघीय सरकारसंगको समन्वय गर्ने निर्णय पनि समितिले गरेको बताइएको छ । कोभिड १९ रोकथामका लागि भिडभाड हुन नदिने, सभा, समारोह, भेला, गोष्ठी र तालिम लगायत कार्यक्रम हुन÷गर्न नदिने व्यवस्था मिलाउन जिल्लाका समितिहरुलाई पत्राचार गर्ने निर्णय भएको समितिले जनाएको छ ।